कतारमा नेपाली श्रमिकमाथी अमानवीय व्यवहार भएकाे एम्नेस्टी इन्टरनेशनलद्वारा खुलासा, महामारीमा दुर्व्यवार गरेकाे भन्दै उपचार र क्षतिपूर्तिको दिन आह्वान

५ बर्ष अगाडि

कतारले नेपाली लगायतका सयौं आप्रवासी श्रमिकलाई नियन्त्रणमा लिएर ‘अमानवीय हिरासतमा राखेर  स्वेच्छाचारी ढङ्गले  निष्कासन गरेको रहस्य खुलेको छ । 

एम्नेस्टी इन्टरनेशनलले गरेको अनुसन्धनको क्रममा कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्न भन्दै सयौं आप्रवासी श्रमिकलाई नियन्त्रणमा लिएर स्वेच्छाचारी ढङ्गमा निष्कासन गरेको रहस्य खुलेको हो । 

एम्नेस्टीले कतार प्रहरीले पक्राउ गरेका २० जना नेपाली श्रमिकहरूसँगको कुराकानीपछि यस्तो रहस्य पत्ता लागेको जनाएको छ । 

कतार प्रहरीले फागुन २९ र ३० गते कोभिड–१९ को परीक्षण  गर्ने भन्दै सयौँ आप्रवासीहरुलाई नियन्त्रणमा लिएको थियो।  सबैलाई आ–आफ्नो आवासमा फर्काइदिने भन्दै प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई आवासमा नफर्काई धेरै दिनसम्म हिरासतमा राखेर पछि जवर्जस्तै नेपाल पठाइएको एम्नेस्टीको भनाई छ । 

कतार प्रहरले आवासबाट बाहिर खाद्यान्न लगायतका सरसामान किनमेल गर्न गएको बेला आप्रवासी श्रमिकहरूलाई घेरा हालेर नियन्त्रणमा लिई दोहाको औद्योगिक क्षेत्र, बारवा शहर  र लेबर शहरसमेत विभिन्न ठाउँको  हिरासतमा राखेको एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युज्का निर्देशक स्टिभ कबर्नले जनाएका छन् । 

उनीहरुलाई कोभिड–१९ परीक्षणको लागि लैजान लागेको र पछि आवासमै फर्काइदिने भन्दै बसमा राखेर औद्योगिक क्षेत्रको हिरासतस्थलमा लगि सबै कागजात र मोबाइल फोन जफत गरेको थियो ।  त्यहाँ उनीहरूको फोटो खिच्नुका साथै औँठाको छाप पनि लिईएको समेत एम्नेष्टीले जनाएको छ । 

श्रमिकहरूलाई विभिन्न देशका सयौँ अन्य मानिसहरूसँगै खाट र ओढ्ने ओछ्याउने नभएको एकदमै भिडभाडयुक्त कोठाहरूमा पर्याप्त पानी र खाना समेत नदिएर राखिएको थियो । 

एउटै कोठामा सयौंलाई ठेलमठेल गरेर फोहोर फाल्ने प्लास्टिकमा खान दिएको तथा  स्वास्थ्य परीक्षण समेत नगरेको नेपालीहरुले  गुनासो गरेका थिए । 

निर्देशक स्टिभ कबर्नका अनुसार अमानवीय हिरासतमा लामोसमय राखेपछि  धेरैजसोलाई नेपाल जाने विमानमा जवर्जस्ती पठाइएको थियो । उनीहरुलाई आफ्ना सरसामान ल्याउने समेत अवसर नदिइएको उनको भनाई छ । 

हिरासतमा रहेका धेरै श्रमिकलाई एयरपोर्ट पुग्दासम्म पनि देश निकाला गरिरहेको थाहा नभएको एम्नेस्टीको अध्ययनले देखाएको थियो । 

दुइटै हात हतकडीमा बाँधिएका उनीहरुमध्ये कतिलाई हिरासतबाट सिधै एयरपोर्ट पु–याएको थियो भने कतिपयलाई कोठामा लगिएको थियो ।  हत्कडी नखोलेकोले राम्रोसँग सामान पनि प्याक गर्न नपाएको धेरै श्रमिकले बताएका छन् ।

उनीहरुमध्ये केहीलाई चैत २ र अन्यलाई चैत ६ मा जवर्जस्ती फिर्ता पठाइएको थियो ।  उनीहरुमध्ये कतिपयको कम्पनीबाट पारिश्रमिक लिन बाँकी छ भने कतिले आफूसँग भएको रकम प्रहरीले लुटेको गुनासो गरेका छन् । 
कामदारलाई जवर्जस्ती निकालेर  कतार सरकारले भने औद्योगिक क्षेत्रमा गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न रहेकोले निकाला गरिएको जनाएको छ ।

कतारले आप्रवासी श्रमिकविरुद्ध थप दुव्र्यवहार गर्ने अवसरको रूपमा महामारीलाई दुरुपयोग गरिएको भन्दै कार्बनले यसप्रति दुःख व्यक्त गरेका छन् । 

यसरी दुर्व्यवहार गरेर स्वदेश फर्काइएका श्रमिकहरुलाई उनीहरूले चाहेको खण्डमा कतार फर्कन दिनुपर्ने र उनीहरू कार्यररत रहेका रोजगारदाता कम्पनीहरूले पारिश्रमिक लगायतका अन्य सेवा सुविधाहरू यथाशीघ्र भुक्तानी गर्नुपर्ने कबर्नले बताएका छन् । 

निस्कासन गरिएका आप्रवासी श्रमिकलाई त्यसको प्रतिवाद गर्ने अवसर दिन र श्रमिकहरूको प्रभावकारी उपचार र क्षतिपूर्तिको दिन एम्नेस्टी इन्टरनेसनलले कतारलाई आह्वान गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया