नौबिसे पिप्लामोड सडकको मर्मतसम्भार शुरु

५ बर्ष अगाडि

कोरोना भाइरस कोभिड १९ को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ । 

अधिकांश सर्वसाधारण घरमै दिन बिताइरहेका छन् । अत्यावश्यक बाहेकका सवारीसाधन नचल्दा सर्वसाधारणको दैनिकी निकै प्रभावित भइरहेको छ । तर, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी लकडाउन को केही सकारात्मक प्रभाव पनि देखिन थालेको छ ।  

लकडाउनकै कारणले सवारीको अत्याधिक चापले भरिभराउ जस्तै हुने त्रिभुवन राजपथ अहिले शान्त र आर्कषक  देखिन थालेको छ । यस अघि अत्याधिक सवारी चापको कारणले सडक मर्मतसम्भार गर्न नसकिएको त्रिभुवन राजपथको नौबिसे पिप्लामोड सडकको मर्मतसम्भारको काम अहिले थालिएको छ ।

लकडाउनको समयमा अत्यावश्यक बाहेकका सवारी साधन नगुड्ने भएपछि सो सडकको मोड सुधारको काम थालिएको छ । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई। कृष्णराज अधिकारीका अनुसार दुई दिन अघिबाट घुम्तीहरुमा मोड सुधारको काम थालिएको छ । सो सडक खण्डको १० किलोमिटर क्षेत्रमा माथिल्लो तहमा कालोपत्र ओभरले गर्ने तयारी गरिएको छ । कालोपत्रेका लागि अलकत्रा घोल्ने मेसिन प्लान्ट लगिसकिएको छ । 

प्रमुख अधिकारीले ठेकेदार कम्पनीले ओभरलेका लागि तयारी गरिरहेको जानकारी दिए । सो सडक सात मिटर फराकिलो रहेको छ । लकडाउनको समयमा काम गर्न पाएमा दुई साता भित्रमा सबै काम सम्पन्न हुने उहाँको भनाइ छ । 

गएको दशैं अगाडी एकतर्फी सडक रोकेर मर्मत गर्दा सवारी जाम अत्याधिक भएपछि काम गर्न सकिएको थिएन । 

प्रमुख अधिकारीले भने, “असोजको ५ गते सम्म दिउँसोमा केही समय एक तर्फी सवारी रोकेर काम गर्दा अत्यधिक सवारी जाम भएपछि काम स्थगन गरेका थियौं ।” सो सडकखण्ड राजधानी काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य नाका हो ।  

यो क्षेत्रमा साँघुरो, उकालो र नागबेली सडक भएकाले सवारी जाम अत्यधिक हुने गर्दछ । सवारी साधनहरु सञ्चालन भएको समयमा काम गर्न निकै कठिन हुने गरेकाले लकडाउनको अवसरलाई उपयोग गर्न लागिएको हो । डिभिजन सडक कार्यालयले लकडाउनलाई उपयोग गर्दै पृथ्वी राजमार्गमा रोड मार्कीङ्को काम पनि शुरु गरेको छ ।
 
 

५ बर्ष अगाडि

प्रतिक्रिया