पत्रकारको तलब २९ हजार ५००, कसकाे कति ?

७ बर्ष अगाडि

काठमाडौँ- न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चार माध्यममा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको पारिश्रमिक पुनरावलोकन गर्ने निर्णय गरेको छ । 

समितिको आज बसेको बैठकले सञ्चार माध्यममा काम गर्ने पत्रकारको न्यूनतम पारिश्रमिक सञ्चार माध्यमअनुसार पुनरावलोकन गर्दै सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो । 
निर्णयअनुसार पत्रकारको पारिश्रमिक अब रु १९ हजार ५०० बाट रु २९ हजार ५०० र सञ्चार खर्च गरी रु ३० हजार ५०० पु¥याइएको अध्यक्ष गङ्गाधर पराजुलीले जानकारी दिए । 

समितिले सञ्चार प्रतिष्ठानको क्षमता, श्रेणी र तहलाई समेत आधार बनाएर पारिश्रमिकमा पुनरावलोकन गरेको हो ।

समितिले पुनरावलोकनका लागि गरेको नयाँ पारिश्रमिकअनुसार क, ख र ग वर्गमा पर्ने राष्ट्रियस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारका लागि क्रमशः रु २९ हजार ५००, रु २७ हजार ५०० र रु २४ हजार ५०० तथा प्रादेशिकस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवी पत्रकारका लागि क्रमशः रु २१ हजार ५००, रु २० हजार र १८ हजार निर्धारण गरेको छ । 

यस्तै स्थानीयस्तरका पत्रपत्रिकामा कार्यरत श्रमजीवीका लागि क्रमशः रु १८ हजार १७ हजार र १६ हजार न्यूनतम पारिश्रमिक तोकिएको छ । समितिले ५०० वाटभन्दा बढी क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारको लागि रु २९ हजार ५००, पाँच सय वाट क्षमतासम्मका रेडियोमा कार्यरत श्रमजीवीका लागि रु २१ हजार ५०० र १०० वाटसम्म क्षमताका रेडियोमा कार्यरत श्रमजीवी पत्रकारका लागि रु १८ हजार मासिक न्यूनतम पारिश्रमिक तोकिएको छ । 

टेलिभिजन प्रतिष्ठानमध्ये स्याटलाइट टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारका लागि न्यूनतम पारिश्रमिक रु २९ हजार ५०० र केबुल टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारका लागि रु २१ हजार ५०० निर्धारण गरिएको छ । 

समितिले स्ट्रिन्जर समाचारदाताको हकमा राष्ट्रियस्तरका सञ्चार प्रतिष्ठानमध्ये पत्रपत्रिकामा प्रतिसमाचार रु ३५०, रेडियोमा रु ३०० तथा टेलिभिजनमा रु ९०० तथा प्रादेशिक तथा स्थानीय सञ्चारमाध्यमअन्तर्गत पत्रपत्रिकामा २२५ रुपियाँ, रेडियोमा २२५ र टेलिभिजनमा रु ७५० पुनरावलोकन गर्ने निर्णय गरेको छ । 

बैठकले राष्ट्रिय सञ्चारमाध्यममा क, ख र ग वर्गका काम गर्ने कर्मचारीलाई क्रमशः रु २१ हजार ५००, रु २० हजार ५०० र रु १८ हजार तथा प्रादेशिक सञ्चारमाध्यममा क, ख र ग वर्गमा काम गर्ने कर्मचारीलाई क्रमशः रु १९ हजार, रु १८ हजार र रु १६ हजार सिफारिश गर्ने निर्णय गरेको छ । 

यसैगरी बैठकले स्थानीय सञ्चारमाध्यम क, ख र ग श्रेणीमा कार्यरत कर्मचारीका लागि क्रमशः रु १६ हजार, १५ हजार र १४ हजार सिफारिश गर्ने निर्णय गरेको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया