वैशाख १५ सम्म थपियाे लकडाउन

६ बर्ष अगाडि

सरकारले काेभिड १९ नियन्त्रणका लागि लकडाउनको अवधि वैशाख १५ सम्म थप गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

नेपालमा दोश्रो व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएपछि चैत ११ गतेदेखि १८ सम्म लकडाउन घोषणा गरेको सरकारले त्यसपछि चैत १७ मा ८ दिन थपेर चैत २५ र फेरी चैत २४ मा ८ दिन थपेर वैशाख ३ सम्म पु-याएको थियो । 

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने एकजना निको भइसकेका छन् ।

कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको ठहर गर्दै सरकारले नियन्त्रणका लागि लकडाउन नै महत्वपूर्ण कदम भएको निश्कर्षमा पुगेको छ । 

तीन दिनअघि मुख्यमन्त्रीहरूसँगको भिडिओ कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा कडाइ हुने बताएका थिए।

यसैबीच उपत्यकामा पनि कोरोना संक्रमित देखिएपछि प्रहरीले लकडाउनमा थप कडाइ गरेको छ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि भएसँगै प्रहरीले थप कडाइ गरेको हो।

लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अब बल समेत प्रयोग गर्न सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

'हामीले झन् कडा बनाउँदै गएका छौं,'उनले भने,'भनेर पनि नटेर्नेहरूलाई अब बल समेत प्रयोग गर्न सक्छौं।'

साथै, त्यस्तालाई जरिवाना तिराउनेदेखि एक महिनासम्म थुन्न सकिने उनले बताए।

लकडाउन उल्लंघन गर्नेहरूले विभिन्न खालका बहाना बनाउने गरेको उनले बताए।

'कोही तरकारी किन्न, कोही सुगरको बिरामी हिँड्न आएको, मर्निङ वाक, इभिनिङ वाक भन्छन्,'उनले भने,'जे जति बहाना बनाए पनि अहिलेको अवस्थामा घरभित्रै सुरक्षित छन्।'

यसअघि लखरलखर हिँड्नेलाई प्रहरी सम्झाइबुझाइ गरेर घर पठाउने वा केही घण्टा नियन्त्रणमा लिने गरेको थियो।

मंगलबार दिउँसो दुई बजेसम्म काठमाडौं उपत्यकामा लकडाउनको उल्लंघन गर्ने  १८ सयलाई प्रहरीले नियन्त्रणमा लिएको परिसरले जनाएको छ।

त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि कडाइ गर्न थालेको एसएसपी भीम ढकालले जानकारी दिए।

ट्राफिक प्रहरीले भने तीन सय ६५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। तीमध्ये ४८ वटा चार पाङ्ग्रे रहेको महाशाखाले जनाएको छ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया