कोभिड १९ नियन्त्रणका लागि थप कदम चाल्ने लगायतका महत्वपूर्ण विषयमा निर्णय गर्न संघीय सरकारको मन्त्रीपरिषद बैठक आज बस्दै छ ।
बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनको अबधि अझै केहीदिन थप्ने लगायतका विषयमा निर्णय लिने जनाइएको छ ।
नेपालमा दोश्रो व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएपछि चैत ११ गतेदेखि १८ सम्म लकडाउन घोषणा गरेको सरकारले त्यसपछि चैत १७ मा ८ दिन थपेर चैत २५ र फेरी चैत २४ मा ८ दिन थपेर वैशाख ३ सम्म पु-याएको थियो ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १४ पुगेको छ भने एकजना निको भइसकेका छन् । कोरोना संक्रमण दोश्रो चरणमा प्रवेश गरेको ठहर गर्दै सरकारले नियन्त्रणका लागि लकडाउन नै महत्वपूर्ण कदम भएको निश्कर्षमा पुगेको छ ।
तीन दिनअघि मुख्यमन्त्रीहरूसँगको भिडिओ कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने र सीमामा कडाइ हुने बताएका थिए।
लकडाउनका साथसाथै कोभिड–१९ विरुद्ध अझै गर्नुपर्ने तयारी लगायतका विषयमा पनि मन्त्रीपरिषदमा छलफल हुने जनाइएको छ ।
लकडाउनको कारण काम ठप्प भएपछि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु अलपत्र परेका छन् । उनीहरुलाई राहत दिन सरकारले कार्यविधि समेत बनाएर स्थानीय तहलाई पठाएपनि स्थानीय तहले प्रभावकारी काम नगर्दा सयौँ मजदुर भोगभोकै बस्नु परेको छ ।
ठेकेदार, मालिक र सरकारले समेत श्रमिकको वास्ता नगरेपछि सयौँ किलोमिटर हिँडेर उनीहरु घरतर्फ लागेका छन् । यो अवस्थामा उनीहरुलाई रातह र घरसम्म सजिलै पु¥याउने व्यवस्थाका लागि पनि सरकारलाई दवाव परेकोले आजको मन्त्रीपरिषद बैठकले यस विषयमा पनि निर्णय गर्ने सम्भावना छ ।
नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेका कारणले रोकथाम र नियन्त्रणका लागि लकडाउन बढाउनुपर्ने सरोकारवालाले सरकारलाई सुझाइरहेका छन्।
भारतमा कोभिड–१९ का बिरामी दिनहुँ बढिरहेको र नेपालको खुला सीमानाका कारण भारतबाट आउने क्रम नरोकिएकोले सीमा नाकामा कडाइ गर्ने विषयमा पनि मन्त्रीपरिषदले केही निर्णय गर्न सक्ने सम्भावना छ ।
त्यस्तै, बन्द कलकारखानाहरु सञ्चालन, दैनिक उपभोग्य वस्तुको आपूर्ति, कृषि उत्पादन बढाएर कोभिड–१९ पछिको अवस्थाको तयारीका विषयमा पनि सरकारले आवस्यक रणनीति अपनाउनुपर्ने विज्ञहरुले सुझाएका छन् । सो विषयमा पनि निर्णय गर्न सक्ने सम्भावना रहेको पनि बताइन्छ ।
प्रतिक्रिया