बर्ष २०७६ को अन्त्यसँगै आज (बुधबार) देखि नयाँ बर्षदेखि नयाँ बर्ष २०७७ सुरु भएको छ । यद्यपि, यो बर्ष अन्य बर्ष जस्तो नयाँ जोस र जाँगर लिएर आएको भने छैन ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाल पनि अछुतो हुन सकेन । नेपालमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि बिगत ३ हप्तादेखि नेपालमा लकडाउन जारी छ । तर, यो कहिलेसम्म जाने हो, थाहा छैन । यी यस्ता कारणले बर्ष २०७७ थुप्रै चुनौती लिएर आएको छ ।
अन्त्य तिर कोरोना भाइरस आएपनि बर्ष २०७६ समग्रमा राम्रो नै भयो । नेपालको बैैंकिङ क्षेत्रको हकमा भन्ने हो पनि बर्ष २०७६ मा धेरै परिवर्तन भए, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैदेशिक भ्रमण र अध्ययनमा दिने नोट सटहीको सुविधामा कडाई गर्यो, बैंकहरुलाई बीमा पोलिसी बिक्री गर्न रोक लगाउने जस्ता थुप्रै नीतिगत परिवर्तनहरु गर्यो ।
२०७६ मा यी परिवर्तनसँगै बैंकिङ क्षेत्रमा यस्ता घटना पनि भए, जसले बैंकिङ क्षेत्र मात्रा नभएर सिंगो मुलुकलाई नै तरंगित बनायो, जुन घटना यस प्रकार छन् ।
घटना १ः नेपाली एटीएम बुथहरु चिनियाँद्धारा ह्याक
गत भदौ १४ गते शनिबारको दिन थियो । तीजको माहोल भएकाले बैंक लगायतका बिभिन्न क्षेत्रका कर्मचारीहरू अफिसियल काम भन्दा पनि रमाइलो तिर लागेका थिए । सोही अवसरलाई प्रयोग गर्न चिनियाँ ह्याकर समुहले नेपाल प्रवेश गरिसकेका हुन्छन् । शनिबारका दिन नेपालका एटीएम सिस्टम ह्याक गरेर पैसा कुम्लाई भोलि पल्ट नै चिन फर्किने उनीहरुको योजना थियो ।
योननाअुनसार उनीहरुले शनिबार दरवार मार्गको बिभिन्न एटीएम बुथबाट पैसा झिक्न थाले । एटीएमबाट अस्वभाविक रुपमा पैसा गएको देखिपछि नविल, प्रभु बैंक लगायतका कर्मचारीहरु चकित परे । त्यसपछि उनीहरुले तत्काल प्रहरीलाई खवर गरे । ह्याकर समुह एक सदस्य शनिबार साँझ दरवार मार्गको एक एटीएम बुथाट पैसा झिक्न लागेको थाहा पाएपछि सम्बन्धीत बैंकका कर्मचारीले प्रहरीलाई खवर गरेको थियो। त्यसपछि निज व्यक्तिलाई प्रहरीले एटीएम बुथाट निस्कने क्रममा पक्राउ गर्यो । उसकै बयानको आधारमा तत्काल अन्य ५ जना ह्याकर पनि पक्राउ परे ।
अनुसन्धानको क्रममा उनीहरूले एटीएम ह्याक गरेर रू. १ करोड ७६ लाख झिकेका पाइको थियो । तर, प्रहरीले उनीहरूबाट रू. १ करोड २६ लाख र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरको थियो । साथै, सोही दिन भारतबाट पनि थप रू. १ करोड ६८ लाख रुपैयाँ झिकेको तथ्यांक भिषा कार्डले राष्ट्र बैंकलाई पठाएको थियो । तर, त्यो पैसा कसले कहाँ झिक्यो भनेर पत्ता लागेको छैन । अहिले यो बिषयमा अनुसन्धान भइरहेको छ । तर, भारतदेखि झिकिएको पैसा आउने टुंगो भने छैन ।
एक चिनियाँ ह्याकर समुहले नेपाली एटीएम ह्याक गरेर पैसा झिकेपछि बैंकहरु मात्रा तर्सिएका थिएनन््, सिंगो नेपालनै तर्सिएको थियो ।
घटना २ः कृषि विकास बैंक ह्याक
यो घटना असोज ८ गतेको हो । एटीएम ह्याक प्रकरण सेलाउन नपाउदै पुनः त्यो दिन कृषि विकास बैंक पनि साइवर हमलाको शिकार बन्यो । सो बैंकको लहान शाखाका कर्मचारीको यूजर नेम र पासवर्ड ह्याक गरेर एक समुहले रू. ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरी गर्यो ।
प्रहरीका अनुसार भारतकोे मुम्बईमा बस्ने पिटर नामक विदेशी नागरिकले नेपालीलाई नै प्रयोग गरेर यहाँको बैंक लुट्ने योजना बनाएका रहेछन् । उनीद्धारा परिचालित १२ जना व्यक्तिहरु बिभिन्न रेमिट्यान्स काउन्टरबाट पक्राउ परे । उनीहरुले बैंकको रेमिट्यान्स सिस्टमबाट एक अर्काको नाममा पैसा पठाउदै झिक्दै गरेका थिए ।
त्यसबेला दैनिक ६० हजार भन्दा बढी रकम पठाउन र झिक्न बन्देज थियो । तर, तोकिएको भन्दा बढी मात्रामा कारोबार भएपछि कर्मचारीहरु चनाखो भए । र, प्रहरीलाई पनि खबर गरे । त्यसपछि प्रहरीले बिभिन्न शुत्र प्रयोग गर्दै उनीहरुको १२ जनाको समुहलाई पक्राउ गर्यो ।
विशेषगरि नयाँ बानेश्वरस्थित पानस रेमिटको सिस्टमले शंकास्पद कारोबार देखाएपछि यो घटना बाहिर आएको थियो । एक कर्मचारीको नाममा अस्वभाविक रुपमा रू. १२ लाख आएपछि रेमिटले प्रहरीलाई सम्पर्क गरेको थियो । त्यसपछि त्यो रकम निकाल्नेहरु माथि प्रहरीले निगरानी राखेको थियो र सो क्रममा लवाङ तामाङ पक्राउ परेका थिए । उनीहरुबाट प्रहरीले रू. ४० लाख ५० हजार बरामद गरेको थियो । यस घटनाबारे टप अनुसन्धान जारी छ । यो घटनाले पनि बैंकिङ क्षेत्रलाई तरंगित गराएको थियो ।
घटना ३ः किर्ते हस्ताक्षर गरि बैंकबाट पैसा झिकियो
यो घटना पुरानो होइन । गत मंसिरमा मात्र यस घटनाको रहस्य बाहिरएको छ । एक गिरोहले जनता बैंकका खातावाल गोपालमान राजवाहकको खाताबाट गत मंसिरमा रू. १९ लाख ९९ हजार झिके । उनीहरुको ६ जनाको समुहलाई प्रहरीले पक्राउ पनि गरिसको छ । साथै, उनीहरुले नै मुक्तिनाथ विकास बैंकबाट रू. १० लाख झिकेको पनि खुलेको थियो ।
मंसिर ८ गते उक्त गिरोहका एक सदस्य राजवाहकको चेक हराएको र मलाइ नयाँ चेकबुक लिन पठाएको भन्दै जनता बैंकको ग्वार्काे शाखामा निवेदन दिए । सो निवदेनको आधारमा बैंकले पनि साझै नयाँ चेकबुक दियो । त्यहीबाट पैसा निकाल्न शंका हुने भएपछि उनीहरुले उक्त बैंकको बानेश्वर शाखाबाट ९ लाख ९९ हजार र न्यूरोड शाखाबाट ५/५ लाख झिके ।
प्रहरीका अनुसार नयाँ बानेश्वरमा साटिएको चेक तेजबहादुर भुजेलको नाममा एसी चेक काटिएको थियो । जसअनुसार त्यो रकम उनको खातामा जान्छ र त्यहीबाट निकालिन्छ । न्यूरोडमा साटिएको चेक भने रोहित कार्कीको नाममा थियो ।
यो गर्नुभन्दा अघि गिरोहका एक सदस्यले राजवाहकलाई फोन गर्छन, ‘म नेपाल प्रहरीबाट हो, तफाईको मोवाइल ह्याक हुन लागेको छ । आफ गर्नुहोला । हामीलाई अनुसन्धानमा सजिलो हुन्छ ।’ राजवाहकले डराएर मोवाइल अफ पनि गरे ।
जव साँझ उनले मोवाइल अन गरे, जनता बैंकको तीन ओटा एसएमएस अलर्ट आयो । पछि हेर्दा पैसा काटिएको रहेछ ।
उनले कसैलाई पनि चेक दिएका थिएनन् । उनले मोवाइल अफ गर भनेर जुन नम्बर देखि फोन आएको थियो, त्यसमै फोन गर्ने प्रयास गरे । तर, लागेन । त्यसपछि उनी प्रहरी शरणमा पुगे । प्रहरीले आवश्यक शुत्र प्रयोग गर्दै अनुसन्धान अघि बढाइ हाल्यो । र बैंकलाई पनि चनाखो हुन भन्यो ।
उनको खातामा २५ लाख रकम थियो । बाँकी रहेका पैसा झिक्न गिरोहका एक सदस्य मंसिर ९ गते न्यूरोड शाखा पुगे । त्यो व्यक्तिमाथि संका लागेपछि बैंकले प्रहरीलाई खबर गर्यो र प्रहरी त्यही ठाउँबाट मनिष घिमेरलाई पक्राउ गर्यो । निजको माध्यमबाट अन्य पाँच जना पनि पक्राउ परे । यो घटनाले पनि बंकिङ क्षेत्रमा तरंग ल्याएको थियो ।
घटना ४ः डेपुटी गभर्नर श्रेष्ठ निलम्बन
२०७६ मा नेपाल राष्ट्र बैंकको इतिहासमा दास्रो पटक डेपुटी गभर्नर पदमा भएका व्यक्ति निलम्बनमा परे । निलम्बनमा पर्ने व्यक्ति हुन डेपुटी गभर्नर शिवराज श्रेष्ठ, यो घटना गत कात्तिकको हो । उनी तिहार लगत्तै पदबाट निलम्बन भएका हुन् ।
श्रेष्ठलाई पद अनुकूल काम नगरेको, वित्तीय क्षेत्रमा अनुचित गतिविधि गरेको, सम्पत्ति शुद्धीकरण निवारणका लागि गरेको प्रयासको अवमूल्यन गरको आरोप लगाइएको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरूको नियमनको काममा बदनियत राखेको, वैदेशिक भ्रमणमा फर्जी कागज बनाएर तोकिएभन्दा बढी सुविधा लिएकोजस्ता आरोप पनि उनी माथि छ । यस्ता आरोप लागेपछि उनी माथि छानविन गर्न समिति बनाइयो, त्यसपछि उनी स्वत निलम्बनमा परेका हुन् । हाल उनले सफाई पाइसकेका छन् । यो घटनाले पनि बैंकिङ क्षेत्रमा तरंग ल्याएको थियो ।
बैंक ठगीको वर्ष : बैंक अफ काठमाडौंका पुर्व सीईओ अजय श्रेष्ठ पक्राउ
कमशल जग्गा धितो राखेर कर्जा प्रवाह गरेको प्रकरणमा बैंक अफ काठमाडौंका पुर्व सीईओ अजय श्रेष्ठ पक्राउ परेको बिषयले पनि यो बर्ष बैंकिङ क्षेत्रमा तरंग ल्यायो । उनी कारागार नै चलान भए ।
झापाका एक ऋणी सुरेन्द्र श्रेष्ठले झापाको एक खोलाको किनाराको जग्गा धितो राखि उक्त बैंकबाट कर्जा लिएका थिए । तर, यसमा पुर्व सीईओ श्रेष्ठको कुनै दोष नभएको बताइन्छ । यसरी बिना गल्ती एक बैंकरलाई पक्राउ गरिएपछि बैंकिङ क्षेत्र पनि त्रसित भएका थिए ।
सुरेन्द्रले झापाको विरिङ खोलाको जग्गाको लालपुर्जा राखेर महेन्द्र राजमार्गसँग जोडिएको जग्गा भनि अर्कै ठाउँको जग्गा देखाएर बैंक अफ काठमाडौंको कमलपोखरी शाखाबाट कराडौं ऋण लिएका थिए । त्यसमा बैंकका तत्कालिन सिईओ श्रेष्ठ, शाखा म्यानेजर बोहोरो, जग्गाको मुल्यांकन गर्ने भेषराज खत्री, गणेश लम्साल सहितका व्यक्ति यसमा मुछिएका थिए ।
बिग मर्जरको शुरुवात
नेपालमा ठूला वाणिज्य बैंकहरु ग्लोबल बैंक र जनता बैंक आपसमा मर्ज भएपछि २०७६ लाई बिग मर्जरको शुरुवात वर्षको रुपमा पनि परिचित भयो ।
आर्थिक वर्षको शुरुवात अर्थात असार पहिलो साता गभर्नर डा. निरञ्जीबी नेपालले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र सीइओरुलाई बोलाएर मौद्रिक नीतिअघि नै मर्जरका लागि जोडी खोज्न निर्देशन दिएपछि २ हप्तामै ग्लोबल बैंक र जनता बैंक आपसमा मर्ज हुने सैद्दान्तिक समझदारी भयो । र, यी दुई बैंक गाभिइसकेका छन् ।
अन्य बैंकहरुले पनि मर्जर कमिटि गठन गरेर मर्जरको विषयम छलफल अगाडि वढाए । तर, मौद्रिक नीतिपछि केही सहुलियत भएकोले बैंकहरुले पर्ख र हेरको नीति अबलम्बन गरे ।
यसका साथै गतवर्ष १८५ बैंक तथा वित्तीय संस्था मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भए । यसमध्ये १४० संस्थाको इजाजत खारेज भई हाल कुल ४५ संस्था मात्र कायम रहेका छन् ।
चेक नै नकाटी भुक्तानी गर्न मिल्ने कामको शुरुवात
नेपालमा पहिलोपटक चेक नै नकाटी भुक्तानी गर्न मिल्ने रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली पनि २०७६ सालमा लागू भयो ।
यो प्रणाली लागू भएसँगै भुक्तानी प्रणालीमा नयाँ युगको शुरुवात भएको छ । यो सुरक्षित र सस्तो पनि छ ।
भदौ १९ गते राष्ट बैंकले आरटीजीएससम्बन्धी नीतिगत व्यवस्था गरेपछि भदौ २९ गते यो प्रणालीको औपचारिक शुभारम्भ भयो ।
अहिलेसम्म आरटीजीएस प्रणालीमार्फत् खर्बौंको भुक्तानी भइसकेको छ ।
त्यस्तै सुचना प्रणालीमा एकरुपता ल्याउन सुपरभाइजरी इनफरमेसन सिस्टम (एसआइएस) प्रणाली लागू गर्ने वर्षपछि २०७६ रह्यो ।
यो व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रिय बैंकका सबै विभागमा वित्तीय विवरण पठाउनु पर्ने झन्झटको अन्त्य भएको छ ।
एसआइएस प्रणालीमार्फत् बैंक तथा वित्तीय संस्थालेएकद्धार प्रणालीबाट तथ्यांक र सुचनाहरु अपलोड गरेको रियल टाइममा नै राष्ट्र बैंकले सो सुचना संकलन गर्न सक्छन् । यो प्रणालीले गर्दा सबैलाई सजिलो हुनुका साथै बैंक वित्तीय संस्थाको विभागै पिच्छे तथ्यांक सुचना पठाउनु पर्ने समयको बचत हुन्छ ।
यसका अलावा अन्य विविध घटनाले पनि बैंकिङ क्षेत्रमा तरंग ल्याएको देखिन्छ । बर्षको अन्त्यमा आएको कोरोना भाइरसले पनि बैंकिङ क्षेत्रलाई तरंगित बनाएको छ । कोरोनाका कारण उद्योग, होटेल, पर्यटन लगायतका क्षेत्र बन्द भएका छन् । यसरी ति क्षेत्रहरु बन्द भएपछि बैंकबाट प्रवाह भएको कर्जा पनि जोखिममा परेको छ । जसले गर्दा यो पनि बैंकहरुको चुनौतीको बिषय बनेको छ । २०७६ मा जे जस्ता घटना भए, त्यसबाट नेपालको बैंकिङ क्षेत्रले सिक्नुपर्ने कुरा धेरै छन् । बिशेषगरि साइवर सुरक्षाको बिषयमा बैैंकहरु चनाखो हुनुपर्ने देखिन्छ । आशा छ आमगी बर्षहरुमा यस्ता बिषयमा बैंकहरु चनाखो भएर हिड्नुपर्ने हुन्छ ।
प्रतिक्रिया