नेपाली नयाँवर्षको उपलक्ष्यमा राष्ट्रप्रमुख देखि सरकार प्रमुख र विभिन्न तहका नेतृत्वले शुभकामना प्रदान गरेका छ । विक्रम सम्वत २०७७ को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका अध्यक्षहरु लगायतले जनतालाई शुभकामना दिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ मा कोरोना भाइरस विरुद्ध जीत हासिल गरेर देशलाई आर्थिक समृद्धिमा लैजान सकियोस भन्ने शुभकामना दिएकी छन् ।
लकडाउन’का कारण यसपटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
नयाँ वर्षको अवसरमा उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वांगीण विकास र प्रगतिको कामना गर्दै राष्ट्रपति भण्डारीले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।
नयाँ वर्षको उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नयाँ वर्ष २०७७ ले कोरोना(कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्दै देश पुनः ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पुरानै लयमा फर्कने विश्वाससमेत व्यक्त गरेका छन् ।
जस्तोसुकै अप्ठ्यारामा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकूलतामा बदल्ने हाम्रो विगत भएको स्मरण गर्दै उनले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको निर्णयमा पूर्ण साथ दिन सबैमा अपिल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका कारण प्रभावित भएकाहरुको रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काउने बताएका छन् ।
कोरोना विरुद्धको लडाइँ जित्न सबैको एकताबद्ध प्रयास, आत्मविश्वास र मनोबल खाँचो पर्ने बताउँदै उनले संक्रमणको चपेटामा परेका सबैको अभिभावकत्व सरकारले लिने बताएका छन् ।
नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नयाँ वर्षको उपलक्ष्यमा सबै नेपालीलाई रोजीरोटीको जोहो गरिने प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा उल्लास मनाउने बेलामा साह्रै अप्ठेरो परिस्थितिबाट गुज्रिनु परेको भन्दै आफूले पाउने पारिश्रमिक कोरोना भाइरसको राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
उनले मुलुक प्रगतिमा रहेको बेला कोरोना संक्रमणले समस्या देखिएको भन्दै आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परालाई सम्झेर आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आफैंलाई जोखिममा राखी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उहाँहरुको हिफाजत सरकारले हरतरहले गर्ने छ ।’
कोरोना भाइरसको महामारीसँग जुध्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको बताउँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी सकिएलगत्तै मानव केन्द्रित नयाँ विश्वप्रणालीको बारेमा विमर्शको थालनी आवश्यक रहेको बताएका छन् । त्यसको अग्रसरता नेपालले लिने पनि उनले बताएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७७ लाई धर्तीका सबै मानिसलाई त्राहिमाम बनाइरहेको कोरोनामाथि जितको वर्ष बनाउन आह्वान गरेका छन् ।
नयाँ वर्षको शुभकामनामा उनले जस्तासुकै विषम परिस्थितिलाई परास्त गरी अघि बढेको नेपालको गर्विलो इतिहास सदैव प्रेरणादायी रहेको उल्लेख गर्दै उनले कोभिड–१९ को जोखिमको विषम परिस्थितिमाथि जीत हासिल गरेर लोकतन्त्रलाई अझ विस्तार, विकास र सुदृढ गर्दै समाजवादउन्मुख नीति, कार्यक्रम र योजनासहित अघि बढ्ने प्रेरणा मिलोस् भन्न कामना पनि गरेका छन् ।
यसैबीच, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भौतिक र आर्थिक विकास कोरोनाको महामारीले उच्च जोखिममा परेको उल्लेख गर्दै ्नयाँ वर्षले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयहरूलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
सत्तारूढ दल नेकपा अध्यक्ष तथा पूर्व प्रधानम्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षमा कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गरेका छन् ।
प्रचण्डको सन्देशमा थप लेखिएको छ, ‘सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु ।’
नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षले मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत व्यक्त गरेका छन्
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ वर्ष वि।सं। २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सरकारलाईसघाइरहेको बताएका छन् ।
उनले आजको चुनौती सामना गर्न कांग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई सघाइरहेको बताएका हुन् ।
नयाँ वर्ष कोराना भाइरसमाथि विजय पाउन सफल हुने विश्वास व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
नेता देउवाले लकडाउनको पालना गर्न र समदूरी कायम गर्दै उच्च सतर्कता अपनाएर संयमका साथ कार्य गर्न–गराउन सबैमा आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया