सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि भएको लकडाउनबाट असर परेका किसानलाई राहत दिन ७० करोडको राहत प्याकेज प्रस्ताव गरेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानलाई राहत दिन ७० करोडको राहत प्याकेज मन्त्रिपरिषदमा लगेको हो ।
लकडाउनका कारण किसानले उत्पादन गरेको तरकारी, कुखुरा तथा दुध लगायतको उत्पादन बिक्री नहुँदा ठूलो क्षति भएको छ ।
किसानको सोही क्षतिको सम्बोधनका लागि मन्त्रालयले राहत प्याकेजको घोषणा गरेको हो ।
समस्यामा परेका कृषकहरुलाई तत्काल राहत उपलब्ध गराउन प्रकृया अघि बढाएको र प्रस्ताव तयार पारी मन्त्रिपरिषद्मा पेश गरेको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।
मन्त्रालयका अनुसार सो राहत प्याकेजमा पोल्ट्रीतर्फ पाँच हजारभन्दा कम कुखुरा पाल्ने किसानलाई प्रतिगोटाको हिसाबले निश्चित राहत दिने प्रस्ताव गरिएको छ । त्यस्तै, बिक्री नभएको दुधको प्रतिलिटर १० रुपैयाँ तथा तरकारीको हकमा बिक्री नभएको तरकारीको आधारमा राहत वितरण हुनेछ । स्थानीय तहको सिफारिसको आधारमा त्यस्तो राहत वितरण हुने कृषि मन्त्रालयले जनाएको छ ।
गत साता मन्त्रिपरिषदमा पेश गरेको प्रस्ताव चाँडै पारित हुने विश्वास मन्त्रालयले गरेको छ ।
प्रतिक्रिया