लगानीकर्ताले माग बढाएपछि डलरको भाउ फेरी १२२ मा पु्ग्यो

६ बर्ष अगाडि

विश्वभरीका लगानीकर्ताले डलरको माग बढाउँदा आज फेरी डलरको भाउ महंगिएको छ ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र प्रभावित हुन थालेपछि लगानीकर्ताले माग बढाउँदा अघिल्लो सातादेखि घटेको डलरको भाउ फेरी बढेको हो । 

अघिल्लो हप्ता १२२ रुपैयाँ ३४ पैसा पुगेर शुक्रबार १२० रुपैयाँमा झरिसकेको अमेरिकी डलरको भाउ फेरि १२२ रुपैयाँमा उक्लिएको हो ।  
नेपाल राष्ट्र बैंकले शनिवार र आइतबारका लागि  एक डलरको भाउ  १२२ रुपैयाँ १८ पैसा नेपाली रुपयाँ  रिफरेन्स रेट तय गरेको छ।

अघिल्लो दिनभरी भएको कारोबारका आधारमा राष्ट्र बैंकले अर्को दिनको रिफरेन्स रेट तोक्छ। 
चीनबाट फैलिएको नोबल कोरोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका छन्।

यही बीचमा सुनको मूल्य पनि बढ्न थालेको छ। 
कोरोनाका कारण चीनको मात्र नभइ अमेरिका, युरोप र भारतकै अर्थतन्त्र पनि प्रभावित हुन थालेको छ। लगानीकर्ताहरु सेयर बजारबाट विस्तारै बाहिरिन थाल्दा विश्वका ठूला स्टक एक्सचेञ्जका सूचकहरु फराकिलो अन्तरले झर्न थालेका छन्। 

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ।

तर यसपाली कोरोनाका कारण डलरको भाउ बढेपनि नेपाली रोजगारीमा रहेका मुलुकहरु पनि यसबाट प्रभावित देखिएकाले ती देशबाट नेपाली फिर्ता पठाइन सक्छन्।

यसो हुँदा रेमिटेन्समा आधारित आय घट्न सक्छ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया