दिक्तेलमा रहेका सम्पुर्ण सहकारीद्वारा लकडाउन अवधिको हर्जना छुट

६ बर्ष अगाडि

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाले ‘लकडाउन’ अवधिको हर्जना छुट गर्ने भएका छन् । 

जिल्ला सहकारी सङ्घ र नगरपालिकाभित्रका सहकारीको आज बसेको संयुक्त बैठकले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण सहकारी संस्था बन्द रहेको अवधिको हर्जना छुट गर्ने निर्णय गरेको हो । 

हर्जना छुट पाउनका लागि ऋणीले ‘लकडाउन’ खुलेको १५ दिनभित्र किस्ता बुझाउनु पर्ने निर्णय भएको सक्रिया वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताए । 

बैठकले ऋण भुक्तानी गर्ने भाका ‘लकडाउन’ खुलेको मितिबाट एक महिना थप गर्ने, हाल भाका पुगेका ऋणको नवीकरण असार मसान्तसम्म गर्ने, ऋणीलाई नवीकरण सेवा शुल्कबापत २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । 

‘लकडाउन’को मारमा परेका ग्राहकको सहुलियतका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको आग्रह अनुसार नगरभित्रका सहकारीले यस्तो व्यवस्था गर्ने निर्णय गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष अनिल जोशीले बताए ।

 “यस नगरपालिकाभित्र १२ सहकारी संस्था क्रियाशील रहेका छन्”, उनले भने, “यो नगरपालिकाभित्र सञ्चालित १२ सहकारीका साथैै जिल्लाभर सञ्चालित १६९ सहकारी संस्थालाई चैतभरको हर्जना छुट दिन आग्रह गरिएको छ ।”

विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमण नियन्त्रणका लागि पूर्व तयारी थालेको नगरपालिकाले एक महिनाचैत भर को घर तथा जग्गा भाडा समेत छुट गर्न घर तथा जग्गा धनीलाई आग्रह गरेको छ । 

बैठकले लकडाउनको कारण मारमा परेका नगरवासीका लागि नगरपालिकाले यसअघि लिँदै आएको फोहरमैला व्यवस्थापन शुल्कमा चैत महिनाको शुल्क छुट दिने लगायतका दश बँदे निर्णय पारित गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया