चीनबाट कोरोना रोगसँग सम्बन्धित स्वास्थ्य सामाग्री तथा उपकरण खरिद गरेर ल्याएको ओम्नी ग्रुपले नेपाल वायुसेवा निगमको चार्टर जहाजको बिल नतिरेपछि समस्या उत्पन्न भएको छ ।
खरिद गरेका सामान ल्याउनाका लागि चार्टर गरेको जहाजको १ लाख ५३ हजार ८ सय ५० अमेरिकी डलर (१ करोड ८६ लाख ४६ हजार रुपैयाँ) नतिरेपछि समस्या भएको हो ।
कमिसनको लागि सरकारी मन्त्री तथा अधिकारीहरु मिलेर सामान खरिदको ठेक्का दिएपछि ओम्नी ग्रुपले चैत १५ गते खरिद गरी ल्याएको नेपाल वायुसेवा निगमको जहाज चार्टर गरेको थियो ।
पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई जमानी बसेर चार्टर गरिएको उक्त विमान कुल ८ घण्टा ३० मिनेट उडेको थियो ।
तर बुधबार स्वास्थ्य सेवा विभागले शर्त बमोजिम समयमै सामान उपलब्ध गराउन नसकेको र उपलब्ध गराउने प्रतिवद्धता समेत नगरेको भन्दै सम्झौता रद्द गरेको छ । सम्झौता रद्ध गरेपछि कम्पनीले चार्डर्ड जहाजको शुल्क तिरेको छैन ।
तत्कालीन समयमा नेपाल वायुसेवा निगमले रकम नपाइ उडाउन नसकिने बताएपछि पर्यटनमन्त्री जमानी बसेका थिए । त्यसको बिल नेपाल वायुसेवा निगमले स्वास्थ्य मन्त्रालयलाई बुझाइसकेको छ । तर बिहीबारसम्म पनि उक्त बिलको रकम निगमले पाएको छैन ।
त्यसअघि ओम्नी ग्रुपले प्रचलित बजार मूल्यभन्दा अत्यन्तै महङ्गोमा एन ९५ मास्क, सर्जिकल, मास्क, फेस मास्क, पीपीई, थर्मोमिटर गन लगायतका सामान ल्याउने ठेक्का पाएको थियो । तर उक्त ठेक्कामा भ्रष्टाचार भएको भन्दै चौतर्फी आलोचना बढेपछि सरकार पछि हट्न बाध्य बनेको थियो ।
स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग गरेको सम्झौता बमोजिम स्वास्थ्य सामाग्री उपलब्ध गराउनका लागि विमान चार्टड गर्दा लाग्ने भाडा पनि ओम्नी ग्रुपले नै तिर्ने उल्लेख गरिएको छ । तर उसको सम्झौता नै रद्द भएपछि अब उसले विमान चार्टर वापतको भाडा नतिर्ने छाँट देखाएको छ ।
मन्त्रीहरुको कमिसनकै लागि आफूले ठेक्का लिएको बताउने कम्पनीले सम्झौता रद्ध मात्र नभई कालोसूचीमा समेत राख्ने निर्णय भएपछि आफूले पैसा नतिर्ने बताउन थालेको छ । ओम्नीले नतिरेमा जमानी बसेका पर्यटनमन्त्री योगेश भट्टराईले विमानको भाडावापतको रकम १ करोड ८६ लाख निगमलाई तिर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया