कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण बन्द भएका कञ्चनपुरका बैंकहरु आगामी चैत २३ गतेदेखि खुल्ने भएका छन् ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समन्वय समिति कञ्चनपुरको बैठकले सुरक्षाका उपाय अपनाएर बैंक खोल्न अनुमति दिने निर्णय गरेको हो ।
बैंकहरु बन्द भएपछि सर्वसाधारणलाई रकम निकाल्न समस्या भएपछि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।
बैंकमा भीड नगर्ने, सामाजिक दूरी कायम गर्ने र स्यानिटाइजरको व्यवस्थासहित बैंक खोल्न अनुमति दिएको उनले बताए ।
आइतवारदेखि बिहान ११ बजेदेखि दिनको १ बजेसम्म दैनिक २ घण्टा बैंक खुल्ने उपाध्यायले बताए ।
त्यस्तै बैठकले मिर्गौलाको डायलासिस गर्नुपर्ने बिरामीलाई सवारी पास नचाहिने र अस्पतालको पूर्जीको आधारमा आवागमन गर्न पाइने, भीडभाड नहुने गरी किसानले गहुँ काट्न र थ्रेसर चलाउन पाउने, कुखुराको दाना साँझ ८ बजेपछि रातको समयमा ढुवानी गर्न दिने लगायतका निर्णय समितिले गरेको छ ।
प्रतिक्रिया