मन्त्रीहरुको चैतको तलव सिधै कोरोना उपचार कोषको खातामा

६ बर्ष अगाडि

 सरकारले संघीय सरकारका मन्त्रीहरुको चैत महिनाको तलव सिधै कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा जम्मा गर्ने व्यवस्था गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उपचार कोषमा जम्मा भएको रकम हस्तान्तरण कार्यक्रममा  अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन् । 

‘कोष खडा गर्ने वित्तिकै ५० करोड राखेर शुरु भएको कोषमा मन्त्रीपरिषद सदस्यहरुको पनि एक महिनाको तलव जम्मा गर्ने निर्णय भएको छ’, उनले भने, ‘मन्त्रीपरिषद सदस्यको पनि चैत महिनाको रकमबाट स्वतः कट्टी हुन्छ ।’

सो बाहेक आज उक्त कोषमा विभिन्न सरकारी निकायबाट रु एक अर्ब बढी रकम जम्मा भएको छ । 

अर्थमन्त्री डा. खतिवडाले सबै सार्वजनिक संस्थान, नीजि क्षेत्र, सामाजिक संस्था, व्यावसायिक जगत सबैलाई कोषमा सहयोग गर्न आह्वान गर्दै कोष सञ्चालनसम्बन्धी कार्यविधि बनिसकेको हुनाले कोषको रकम पारदर्शी ढंगले प्रयोग हुने बताए ।

‘कोषको कार्यविधिका आधारमा कोरोनासम्बन्धी औषधि, उपकरण, अस्पतालका उपकरण, कोरोनाबाट संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्नुपर्ने हुन्छ’ अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा।खतिवडाले भने,‘कोषको रकम सङ्कलनका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ, खाताको सञ्चालन महालेखा नियन्त्रकको कार्यालयबाट हुन्छ, कुनै पनि निकायले कोषको खर्च गर्नका लागि अर्थ मन्त्रालयलाई लेखी पठाउनुपर्छ ।’

उनका अनुसार अर्थ मन्त्रालयले आदेश दिएपछि मात्र महालेखा नियन्त्रकको कार्यालयबाट निकासा हुन्छ । ‘कोरोना रोकथामका लागि वित्तिय व्यवस्था पनि जरुरी छ, यहाँको खर्च सबै पारदर्शी हुनेछ’–उनले भने, ‘महालेखा, मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयबाट पनि जानकारी लिन सक्नुहुनेछ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विश्व नै संकटमा परेको बेलामा नेपालले पनि त्यो लडाई लड्न सहयोगी हात चाहिने बताए । ‘राष्ट्र संकटमा परेको बेलामा जनताले राष्ट्रलाई सहयोग गर्नुपर्छ, भोलिका दिनमा यसले नपुगेकामा हामी फेरी सहयोगका लागि आग्रह गर्छौँ ।’

कोष सदस्य सचिव विडारीका अनुसार कोषमा रहेको रकम कोरोना भाइरससम्बन्धी कार्यमा खर्च गरिनेछ । यदी कोषमा रकम बाँकी रहेमा प्रधानमन्त्री दैविक उद्धार कोषमा सरेर जानेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया