अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाईरसको जोखिमका कारण मुलुक समस्यामा परको बेला सरकार व्यापारको विचलन रोक्नेगरी विदेशी मुद्रा बचत गर्ने काममा लागेको बताएका छन् ।
आइतबार मन्त्रीपरिषदले गरेको महंगा सवारी साधन, मदिरा तथा मरिच, छोकडा र हरियो केराउ रोक्ने निर्णय त्यसैको थालनी भएको उनले प्रष्ट पारे ।
‘निर्णय यतिबेला नै किन गर्नुपरेको होला त भन्दा, हामीलाई अहिले पर्यटनको आम्दानी, विप्रेषण कम भयो, निर्यातमा पनि प्रभाव पर्न सक्छ यसले विदेशी मुद्राको आर्जन कम हुन सक्छ’, राष्ट्रिय समाचार समिति सँगको अन्तरवार्तामा उनले भने, ‘त्यसो हुनाले खर्च गर्ने ठाँउ पनि घटाआँै, व्यापारको विचलन पनि रोक्ने र विदेशी मुद्राको खर्च पनि रोकौँ भनेर नै हो ।’
उनले पचास हजार डलरभन्दा माथिको सवारी साधन निकै विलाशिसताको सवारी साधन भएको र त्यस्तो गाडी नेपाल आउँदा डेड करोड बढी खर्च हुने बताए ।
नेपालको सिमावर्ती क्षेत्र मरिच, छोकडा, हरियो केराऊ (मटर) र मदिराको अवैध व्यापारको क्षेत्र बनेकोले पनि त्यसलाई रोकको उनको भनाई छ । ।
‘मरिच, मटर र छोकडा हामीलाई एक वर्षलाई होइन, धेरै वर्षलाई पुग्ने आयात गरिसकेका छौँ, कति आयात गर्ने ? आवश्यक छैन’ उनले भने, ‘मुलुक समस्यामा छ, केही समय मदिरा नपिए पनि हुँदो हो नी ? त्यसबाट पनि विदेशी मुद्रा वचत हुन्छ । महंगा गाडी चढ्नुभन्दा त्यो पूँजीलाई पूँजी निर्माण हुने अर्को काममा लगाऔं ।’
मन्त्री खतिवडाले जहाँ हामीलाई अवसर पनि सिर्जना हुन्छन्, अहिले निरुत्साहित गराैं भनेर आयात रोक्ने निर्णय भएको बताए । सरकारको यो प्रयासलाई जनतालाई बुझाउने गरी विश्लेषण गरेर राखिदिने काम सञ्चार माध्यमले गर्नुपर्ने उनकाे भनाइ छ ।
प्रतिक्रिया