टेलिकमकाे महशुल भुक्तानी, टपअप र ब्यालेन्स ट्रान्सफर गर्ने प्रकृयामा परिमार्जन, अब यसरी हुन्छ सजिलाे

५ बर्ष अगाडि

नेपाल टेलिकमले महशुल भुक्तानी, ब्यालेन्स टपअप र ब्यालेन्स ट्रान्सफर गर्ने प्रकृयामा परिमार्जन गरेको छ । 

कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्णरुपमा लकडाउन घोषणा गरिएको अवस्थामा नेपाल टेलिकमका ग्राहकको सुविधाका लागि परिमार्जन गरेको हो । 

मुलुक पूर्णरुपमा लकडाउनको अवस्थामा रहेको हुनाले कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकलाई कठिनाई हुनसक्ने देखिएकोले सहजताका प्रकृया परिमार्जन गरिएको टेलिकमका प्रवक्ता राजेश जोशिले बताए । ‘ग्राहकवर्गले सहजरुपमा महशुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरिएको छ ’, उनले भने । 

नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (MPOS) तथा KIOSK मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु, विभिन्न बैंकका अनलाइन/मोबाइल बैंकिंङ सेवाहरु तथा विभिन्न बैंकका भीसा कार्ड र मास्टर कार्ड बाट गर्न सकिन्छ । यसैगरी टेलिकमको ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको छ । 

(क) मोबाइल भुक्तानी सेवा तथा केआइओएसके मेसिन

यस अन्तर्गत कम्पनीका आधिकारिक एमपिओस सेवा प्रदायकहरु (जस्तैःस्टेसनरी, पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआइओएसके मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ।

(ख) विभिन्न भुक्तानी सेवाहरु
यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु (जस्तैःइसेवा, खल्ति, आइएमइपेआदि) का एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।

(ग) विभिन्न बंकाि अनलाइन तथा मोबाइल बैकिंङ सेवाहरु
यसका लागि आफ्नो खाता भएका बैंकबाट अनलाइन बैकिंङ वा मोबाइल बैकिंङको सुविधालाइ सोही बंैकको वेभपेज वा मोबाइल एप प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।

(घ) विभिन्न बैंकका भिसाकार्डहरु
चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्नुपर्छ।

माथि उल्लेख गरिएका महशुल भुक्तानी तथा टपअपका विकल्पहरुको अलावा व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको टेलिकमले जनाएकाे छ । हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा USSD कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।
 
यसका लागि मोबाइलबाट  *422*SCode*MobileNumber*AmountInRupees#  डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको SCODE  (सेक्युरिटी कोड) प्राप्त गर्न SCODE  (सेक्युरिटी कोड)  टाइप गरी १४१५ मा SMS पठाउनु पर्दछ । उदाहरणका लागि व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बरमा रु. २०० ट्रान्सफर गर्न *422*SCode*9841xxxxxx*200#  डायल गर्नु पर्दछ । USSD कोडको अलावा नेपाल टेलिकमको मोबाइल एप (Nepal Telecom APP) बाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । 

यसरी व्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकम सहितको सन्देश १४१५ बाट SMS Alert को रुपमा प्राप्त हुन्छ । 

कम्पनीका सेवाहरुको महशुल भुक्तानीका विकल्पहरु र व्यालेन्स ट्रान्सफरमा गरिएको परिमार्जनबाट कोरोना भाइरसको कारणले सिर्जित हालको विषम परिस्थितिमा पनि कम्पनीका ग्राहकवर्गलाई सञ्चारको सुविधा उपयोग गर्न सहज हुने टेलिकमले विश्वास लिएको जनाएको छ । यी विकल्पहरु सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइटको पेज https://www.ntc.net.np/post/online-topup मा उपलब्ध गरिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया