कालोबजारीको उजुरी, राज्यकाे जवाफ – 'सस्तो ठाउँमा किन्नुस्, ज्यान जाेगाउनुस्'

६ बर्ष अगाडि

बजारमा कालोबजारी गरेर ठगी गरेको उजुरी गर्दा नेपाल प्रहरी काठमाडौंको कण्ट्रोल रुमबाट गैर जिम्मेवारपूर्ण जवाफ आउने गरेको उपभोक्ताले गुनासो गरेका छन् । 

उजुरी कर्ताले प्रहरीको ईमर्जेन्सी नम्बर १०० मा फोन गर्दा प्रहरी कण्ट्रोल रानीपोखरीले कालोबजारी गर्नेलाई कार्बाही गर्नुको साटो जहा सस्तो छ त्यहीबाट किन्नुस, ज्यान जोगाउनुस भन्दै गैर जिम्मेवारपूर्ण जवाफ दिने गरेको उपभोक्ताले गुनासो गरेका हुन् । 

शनिबार बेलुका हनुमानस्थित एक तरकारी पसललेले बजारमा आपूर्ति बन्द भएको भन्दै काउली, प्याज, बन्दा लगायतका तरकारीमा चर्को मूल्य लिएपछि १०० नम्बरमा फोन गर्दा प्रहरी कण्ट्रोलबाट यस्तो जवाफ आएको हो । 

फोन उठाएर प्रहरी कण्ट्रोलमा बसेकी महिला प्रहरीले उजुरी टिप्नुको साटो आफूहरुले पनि तरकारी किन्दा महंगोमा किन्नुपरेको गुनासो गरिन् । ‘तरकारी त महंगो होला नि त यसपाली त, हामीले नि आज महंगो नै किनेको हो’, शनिबार बेलुका ७ बजेर १८ मिनेट जाँदा गुनासाे गर्ने उपभाेक्तासँग उनले भनिन् ‘तपाइँले जहाँ सस्तो छ त्यहीँ किन्नुस न, उनीहरुले दिएनन भनेपनि खानु त पर्‍याे, बाँच्नु त पर्‍याे नि ।’

कण्ट्रोलमा बसेकी ति महिलालले उल्टै अफूले खाना पकाउने ग्याँस नपाएको समेत गुनासो गरिन् । 

त्यस्तै वाणिज्य विभागले कालोबजारीको उजुरीको लागि सञ्चालन गरेको नम्बर ११३७ भने नउठ्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । 

पटक पटक डायल गर्दा पनि नम्बर नउठ्ने र उठेपनि गुनासो टिप्ने र कार्यान्वयन गर्ने काम शून्य रहेको उपभोक्ताको गुनासो छ । 

शनिबार साँझ टिपाएकाे गुनासाेकाे विषयमा आइतबार दिउँसो साढे ३ बजेसम्म पनि कारबाही भएको छैन ।

कोरोना भाइरसले विश्वलाई आक्रान्त पारीरहेको समयमा नेपालमा भने ब्यापारीहरुले कालोबजारी शुरु गरेका छन् । 

कालोबजारीवालालाई कारबाही गर्न सरकारले उपभोक्तलाई तत्काल प्रहरी कण्ट्रोलको १०० नम्बर वा वाणिज्य विभागकाे ११३७ नम्बरमा फाेन गर्न भनेकाे थियाे । 

तर ति नम्बरबाट गैरजिम्मेवारपूर्ण जवाफ पाएपछि उपभोक्ता निराश बनेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया