सरकार ! तलब आएको छैन, समस्याकाे बेला घरबेटीले अत्याउन थाले

६ बर्ष अगाडि

कोरोना भाइरसबाट सुरक्षित हुन र संभावित जोखिमका लागि सबै मिलेर सुरक्षित हुनुपर्ने अवस्थामा काठमाडौंका कतिपय घरधनीले डेरावालालाई अत्याउन थालेका छन् ।

भाडामा बस्नेहरु संभावित जोखिमबाट बच्नका लागि सुरक्षित उपाय अपनाएर बस्न खोजेको अबस्थामा घरधनीले भाडाको लागि ताकेता गर्दै अत्याउन थालेका हुन् । 

कतिपय रोजगारदाताले संकटको बेला भन्दै समयमा तलव नदिएकोले सुरक्षाका उपाय अपनाउन समेत समस्या परेको बेला घरबेटीले तनाव दिएको ग्वार्कोमा डेरागरी बस्ने बुटवलका जीवन थापाले बताए । 

‘काम गर्ने कम्पनीले तलव आउन एकदुईदिन ढिला हुन्छ भनेकोले आफूले त सुरक्षाका सामग्री जोहो गर्न पाएको छैन, यहिबेला घरबेटीले अहिल्यै भाडा चाहियो भन्छन्’, उनले भने, ‘यो संकटको बेला केही समस्या छ कि भनेर सोध्नुपर्ने बेला उल्टो तनाव दिन्छन् ।’ 

संकटको बेला देशका कार्यकारीले गर्ने सम्बोधनमा जनतालाई राहत हुने र यस्ता समस्या तत्काल समाधानका विषय उल्लेख गर्नुपर्नेमा नगरेको उनको गुनासो छ । 

‘राज्यले रोजगारदातालाई ऋणधन गरेरै भएपनि काम गर्नेहरूकाे तलव चाँडाे दिन र घरधनीहरुलाई पनि संयम हुन आग्रह गरी  भोली समस्या परेमा राज्य छ भनेर ढुक्क बनाउनुपर्थ्याे ’, बसुन्धरा बस्ने अर्घाखाँचीका रुगम भण्डारी भन्छन्, ‘हामी जनता नआत्तिएर बस्नका लागि हाम्राे अविभावक रहेकाे राज्यकाे कार्यकारीले अझैपनि यस्तो सम्बोधन गरेर ढुक्क बनाउनुपर्छ ।' 

काठमाडौंमा काम नहुनेहरु घर फर्किँदा गाडीवालाले चर्को शुल्क लिने, बजारमा मास्क तथा सेनेटाइजर नपाइने, र खाद्य सामग्री समेत लुकाउने अवस्थामा राज्यको शक्ति परिचालन गरेर यी विषय तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाई छ । 

‘ब्यापारीले मास्क, सेनेटाइजर त परै जाओस्, नुन समेत लुकाउन थालेकोले यो अवस्थामा राज्यले अनुगमन तिब्र पारेर अत्यावस्यक बस्तु सहज नबनाएसम्म टेलिभिजन सम्बोधनको खासै अर्थ देखिन्न’, किर्तिपुर बस्ने धादिङ्गका विवेक लम्साल भन्छन् । 

सरकारले देश ‘लक डाउन’ गर्न लागेको अबस्थामा संभावित समस्याको लागि केही रकम जोहो गर्नुपर्ने भएकोले सबैले तत्काल घरधनिलाई भाडा बुझाउ नसक्ने अबस्था रहेको उनको तर्क छ । ‘विश्वभरी महामारी फैलिएको बेला समस्या सबैको उस्तै हो, हामी जसको घरमा बसेका छौँ, संकटको बेला आफ्नै घर जस्तो गरि बस्न चाहन्छौँ, यसको लागि राज्यले घरधनिलाई चाँडै भन्नुपर्छ ’, उनले भने ।  

यता समस्याको समयमा समयमा मानवीय सहायताका लागि काठमाडौँ कलंकी घरमा भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि चैत्र १ देखि ३ महिना कुनै पनि भाडा नलिने घोषणा गरेका छन् । 

लामिछानेले जस्तै छुट गर्न नसकेपनि तत्काल भाडा नलिँदा समस्या नहुने घरधनिहरुले केही समयका लागि भाडामा सहज बनाइदिनुपर्ने सामाजिक सञ्चाल प्रयोगकर्ताहरुले लेखेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया