झण्डै ७ प्रतिशतले बढ्याे महंगी, गतवर्ष भन्दा साढे २ प्रतिशत धेरै

६ बर्ष अगाडि

चालु आर्थिक वर्षकाे  ७ महिनामा महँगी ६ दशमलव ८७ प्रतिशतले बढेकाे छ ।

सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ६ प्रतिशतमा सीमित गर्ने घोषणा गरेपनि त्याे भन्दा करिब २ प्रतिशत धेरैले महंगी बढेकाे हाे । 

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेकाे रिपाेर्टमा  ०७६ साउनदेखि  माघसम्म ६ दशमलव ८७ प्रतिशतले मूल्यवृद्धि बढेकाे उल्लेख छ । 

अघिल्लो वर्षको तुलनामा भने याे साढे २ प्रतिशतले बढी हाे । गतवर्ष माघसम्म ४ दशमलव ३५ प्रतिशत रहेको थियाे । 

तर चालु आर्थिक वर्षकै पुसको तुलनामा भने माघ महिनाको मूल्यबृद्धि ०.०५ प्रतिशत मात्र हो । पुसमा बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८२ रहेको थियो । 

माघ महिनामा सबैभन्दा धेरै खाद्य तथा पेय पदार्थ समूहमा महंगी बढेको छ । माघमा खाद्य तथा पेय पदार्थ समूहमा ९.७९ प्रतिशत रहेको छ । 

माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ । 

त्यसैगरी सो महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ । 

माघ महिनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ७.५८ प्रतिशत, तराईमा ७.२९ प्रतिशत, पहाडमा ५.४६ प्रतिशत र हिमालमा ५.२८ प्रतिशत महंगी बढेको छ । 

२०७५ माघमा यी क्षेत्रहरुमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया