फेरी घट्यो रेमिट्यान्स आप्रवाह

६ बर्ष अगाडि

काठमाडौं –  चालु आर्थिक बर्षको पहिलो माघसम्म व्रिपेषण आप्रवाह ०.५ प्रतिशतले घटेको छ । चालु आवको सुरुका महिनाहरुमा घटेको विप्रेषण आप्रवाह पुससम्म आउँदा ०.९ प्रतिशतले बढेको थियो । तर, माघमा आउँदा विप्रेषण आप्रवाह पुनः घट्न गएको हो । 
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ७ महिनाको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार यो ७ महिनामा रु. ५ खर्ब १३ अर्ब २१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । 
गत आवको सोही अवधीमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो । राष्ट्र बैंककाअनुसार गत आवमा रु. ५ खर्ब ८६ अर्ब ५५ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अहिले कोरोना भाइरसको कारण पनि रेमिट्यान्समा ह्रास आएको बताइन्छ । 
अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५  प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा  अवधिमा ०.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.९ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।
यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.१ प्रतिशतले ह्रास भई रु.५ खर्ब ७९ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७.३ प्रतिशतले बढेको थियो ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया