प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संसद् विधि, परम्परा, सहमति र अभ्यासबाट चलिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पदाधिकारीहरु सँगको भेटघाटको अवसरमा सभामुखले सो कुरा बताएका हुन्। सो अवसरमा महासङ्घका उपाध्यक्ष विपुल पोखरेल, सचिवद्वय शितलप्रसाद महतो र रामप्रसाद दाहाल सहभागी थिए ।
सञ्चार सम्बन्धमा बन्ने कानूनप्रति सभामुखको ध्यानाकर्षण गराउने उद्देश्यले भएको सो भेटमा सभामुख भण्डारीले यस प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने विधेयक सञ्चारमैत्री हुने विश्वास दिलाए । उनले जनतालाई सुसूचित एवं सचेतना गर्ने सञ्चारकर्मीको अधिकारलाई खुम्च्याउने सोच नरहेको प्रष्ट पारे । सभामुख भण्डारीले संसद् व्यवस्थित रुपमा सञ्चालन भइरहेको र प्रदेश नं–१ को राजधानी विराटनगर कायम भइसकेको जानकारी दिँदै सम्भवतः चालु अधिवेशनबाटै प्रदेशको नामकरण हुने प्रस्ताव संसद्मा पेश हुने विश्वास दिलाए ।
उपाध्यक्ष पोखरेलले राजनीतिक दलहरुले निर्वाचनको समयमा जारी गरेका घोषणापत्रसँग सम्बन्धित रहेर कानून निर्माण गर्न सकेमा आमजनता लाभान्वित हुने विश्वास व्यक्त गरे । सचिव महतोले प्रदेश नं १ मा सञ्चारसम्बन्धमा बन्ने कानून अरु प्रदेशको लागि प्रेरणा बन्न सकोस् भने। अर्का सचिव दाहालले प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने कानून सञ्चारमैत्री हुनुपर्ने भन्दै सरकारले कानून निर्माण गर्दा अन्तरराष्ट्रिय सन्धि, सम्झौता, संविधानमा भएको प्रावधान र अधिकार उपभोगमा सङ्कुचन नहुनेतर्फ केन्द्रित रहनुपर्ने कुरामा जोड दिए।
प्रतिक्रिया