काठमाडौं - सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको ४ बर्ष हुन लाग्दा करिब २७ लाख नेपालीहरू यसमा जोडिएका छन् । सरकारले स्वास्थ्य बीमा बोर्ड स्थापना गरेर २०७२ चैत २५ देखि यो कार्यक्रम सुरु गरेको थियो । हालसम्म आउँदा २६ लाख ९८ हजार भन्दा बढी नेपालीले स्वास्थ्य बीमा गरेका छन् ।
स्वास्थ्य बीमा बोर्डको तथ्यांकले यस्तो देखाएको हो । सुरुमा बागलुङ, कैलाली र इलामबाट यो कार्यक्रम सुरु गरिएको थियो । हालसम्म स्वास्थ्य बीमाको पहुँच सातै प्रदेशका गरेर ५० भन्दा बढी जिल्लामा पुगेको छ । स्वास्थ्य बीमाको भौगोलिक पहुँच बढ्दै गएपछि बीमा गर्ने व्यक्ति पनि बढ्दै गएको बोर्डको भनाइ छ ।
तथ्यांकअनुसार प्रदेश नम्बर एकमा सबैभन्दा धेरैले स्वास्थ्य बीमा गरेका छन् । प्रदेश नम्बर एकका ३ लाख ५५ हजार ३५१ जना पुरुष र ३ लाख ८९ हजार ५७ जना महिलाले स्वास्थ्य बीमा गरेका छन् ।
यस्तै, बागमती प्रदेशमा २ लाख ९८ हजार ७३४ जना महिला र २ लाख ७८ हजार ८८३ पुरुषले यस्तो बीमा गरेका छन् । यसैगरि, प्रदेश नम्बर ५ मा २ लाख ३३ हजार १३९ महिला र २ लाख ७ हजार ७९७ जना पुरुषले स्वास्थ्य बीमा गरेको देखिन्छ ।
यस्तै, गण्डकी प्रदेशका २ लाख ६ हजार ६६७ महिला र १ लाख ८२ हजार २७२ पुरुषले स्वास्थ्य बीमा गरेका छन् । यसैगरि सुदुर पश्चिम प्रदेशमा १ लाख ४१ हजार १८० जना महिला र १ लाख २४ हजार ९५ जना पुरुष तथा कर्णाली प्रदेशमा १ लाख ७ हजार ४८ जना महिला र १ लाख ६०४ जना पुरुषले स्वास्थ्य बीमा गरेका छन् ।
प्रदेश २ मा भने सबै भन्दा कम बीमित रहेका छन् । प्रदेश २ मा ३७ हजार १८४ जना महिला र ३६ हजार ५४५ जना पुरुषले स्वास्थ्य बीमा गरेका छन् ।
तथ्यांकअनुसार स्वास्थ्य बीमामा महिलाको पहुँच बढी देखिन्छ । महिलाको जनसख्या बढी भएको र पुरुष विदेश जाने कारणले स्वास्थ्य बीमामा पुरूषको सहभागीता कम रहेको बताइएको छ ।
जिल्लाका आधारमा सबैभन्दा धरै बीमित झापा जिल्लामा छन् । त्यहाँ कुल ३ लाख ९ हजार ६६३ जनाले बीमा गरेका छन् । यस्तै, चितवन २ लाख ४७ हजार ४१७ जनाले बीमा गरेका छन् ।
यस कार्यक्रममा सहभागी हुन पाँच जनाको परिवारले बार्षिक रू. ३ हजार ५०० बीमाशुल्क तिर्नुपर्ने हुन्छ । उनीहरुले बार्षिक १ लाखसम्मको सेवा सुविधा उपभो गर्न पाउने छन् । पाँच जना भन्दा बढी सदस्य वा घटी सदस्य भएको घरको हकमा जनही ७०० का दरले बार्षिक बीमाशुल्क बुझाउनुपर्ने हुन्छ ।
यस्तो बीमा गर्दा अतिगरिवले शतप्रतिशत मात्रमा छुट पाउँछन् । साथै, गरिबले ७५ प्रतिशत र सिमान्तकृतले ५० प्रतिशतसम्म छुट पाउछन् ।
यस बीमाले भर्ना खर्च, आकस्मिक, सल्यक्रिया, औषधी खर्च जस्ता जोखिमको रक्षावरण गर्छ । तोकिएभन्दा बढी रकमको चश्मा, स्वास्थ्य सम्बन्धी यन्त्र, प्लास्टिक सर्जरी र कृत्रिम गर्भाधानलाई भने स्वास्थ्य बीमाले सुरक्षण नगर्ने बताइएको छ ।
प्रतिक्रिया