तुलसीपुर उपमहानगरपालिकाले दुई स्थानमा परम्परागत धूपघडी राख्ने भएको छ । नयाँ पुस्तालाई ऐतिहासिक घडीको बारेमा जानकारी दिन दुईवटा सो घडी तयार पारिएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए। उनका अनुसार एउटा तुलसीपुरको बेलझण्डीमा उद्यान निर्माण गरी र अर्को तुलसीपुर–७ स्थित पर्यटकीयस्थल गणेशपुर उद्यानमा ती घडी राखिने छ । “हामीले परम्परागत दुई वटा घडी तयार पारेका छौँ”, उनले भने, “ती घडीमध्ये एउटालाई बेलझुण्डी र एउटा गणेशपुर उद्यानमा राख्ने तयारी गरेका छौँ ।”
पुर्खाले सूर्यको प्रकाशअनुसार बिहान, दिउँसो पत्ता लगाउने गरेको तथा तारा र नक्षत्र हेरेर रातको घडीपला यकिन गर्ने गरेको इतिहास झल्काउन धूपघडी राख्न लागेको उपमहानगरपालिकाले जनाएको छ । ती घडीले घामको प्रकाश अनुसार कति बजेको भन्ने थाहा पाउने बताइएको छ । उपमहानगरपालिका र नेपाल संस्कृत विश्वविद्यालयको संयुक्त पहलमा परम्परागत ती दुई घडी तयार पारिएका हुन् ।
ती घडीले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै समय देखाउने छ । प्रकाश नभएको बेलामा घडीले काम नगर्ने नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले जानकारी दिए । “घडी नहुने युगमा परम्परागतरूपमा धूपको माध्यमबाट कति बज्यो, आज यस्तो भयो भनेर समय निर्धारण गर्ने गर्थे”, उनले भने, “त्यही कुरा अहिलेको पुस्तालाई अध्ययन गर्न यसले सहज बनाउने छ ।” परम्परागत धूपघडीले पर्यटकलाई तान्ने अपेक्षा गरिएको छ । घडी बनाउनका लागि ती दुई निकायले रु ३२–३२ हजार लगानी गरेका छन् ।
खगोलविद् सहप्राध्यापक जयन्त आचार्यले घडी तयार पारेक हुन् । । परम्परालाई जीवन्त राख्न धूपघडी ल्याइएको नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव अधिकारीले बताए। “पहिलेदेखि पुर्खाले प्रयोग गर्दै आएको औजार वा त्यससम्बन्धी जानकारी वर्तमान पुस्तालाई बुझाउनका लागि पनि एकदमै महत्वपूर्ण छ”, उनले भने, “यो घडीले प्रत्येक जिल्लामा फरक–फरक समय देखाउने छ ।”
दाङ र अन्य जिल्ला तथा स्थानमा सूर्योदयको समय फरक–फरक समयमा हुने भएकाले त्यस ठाउँको प्रकाशअनुसार समय फरक पर्ने उनले बताए । अहिले दाङमा ल्याइएको घडी गौरीशङ्कर हिमाललाई आधार मानेर बनाइएको हुँदा यहाँको स्थानीय समयलाई बताउनेसमेत उनको भनाइ छ ।
उनले घडी घाम लाग्ने ठाउँमा मात्रै राखिने बताए । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान (गणेशपुर उद्यान) मा वैशाखसम्म घडी राख्ने गरी तयारी भइरहेको उद्यानका अध्यक्ष डिल्ली भण्डारीले जानकारी दिए । घडी हेर्नका लागि पर्यटक आउने विश्वास गरिएको छ ।
।
प्रतिक्रिया