कोरोनाका बहानामा कालोबजारी नगरौँ

६ बर्ष अगाडि

कोभिड १९ का बहानामा कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका सङ्घसंस्थाहरुले सघाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा सरोकारवालाले बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य माल समानको कृत्रिम अभाव देखिएकाले यसको अनुगमन गर्न सरकारलाई आग्रह गरे ।  

स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले प्रदेशमा एक सय १९ आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतङ्कित हुने अवस्था नरहेको बताए। 

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रणका लागि सरकारले उचित तयारी गर्न गर्नुपर्ने बताए। बजारमा कोरोनाको बहानामा उपभोग्य सामग्रीको कृत्रिम अभाव देखिएको भन्दै उहाँले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे । 

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले सिमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए। अनावश्यक स्टक राखेर अभाव सृजना गर्न नहुने भन्दै उनले कृषिजन्य वस्तुमा समस्या नरहेको बताए । सरकार र निजी क्षेत्रबीच उचित समन्वय अवश्यक रहेको उनको भनाइ थियो । 

साक्षात्कारमा रुपन्देही व्यापार सङ्घका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि सरकारलाई सघाउन तयार रहेको बताए । “सरकारले बजारलाई प्रभावकारीरुपमा अनुगमन गर्नतर्फ अघि बढ्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ, सरकारले उपभोग्य वस्तु कति चाहिन्छ । अवस्था कस्तो छ, सरकारले वास्तविक अवस्थाको चित्रण गर्नु पर्छ”, उनले भने ।  

रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चापदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था आउने भएकाले स्वदेशी उत्पादनतर्फ अग्रसर हुनुपर्ने भन्दै उनले सरकारले उत्पादनका लागि उत्पे्ररणा दिनुपर्ने बताए । एक्कासि मागमा भएको वृद्धिले बजारमा माक्स अभाव देखिएको भन्दै यस्तो अवस्थामा कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गरे । 

६ बर्ष अगाडि

प्रतिक्रिया