अब कालिजको पनि बीमा गर्न सकिने, यस्तो आयो बीमालेख

६ बर्ष अगाडि

काठमाडौं – बीमा समितिले बाली तथा पशुपंक्षी बीमा अन्तरगत कालिज बीमालेख जारी गरेको छ । व्यवसायीक रूपमा पालिने उक्त कालिज (एक प्रकारको चरा) को बीमा गर्न सकिने गरि समितिले नयाँ बीमालेख जारी गरेको छ । योसँगै अब कालिजको पनि बीमा गर्न सकिने भएको छ । 
पछिल्लो समय नेपालमा व्यवसायीक रुपमा कालिज पालन हुन थालेको छ । त्यसपछि बीमा आवश्यकता देखिएपछि कालिजको बीमालेख जारी गरेको समितिको भनाइ छ । तर, यस्तो बीमामा सरकारबाट पाइने ७५ प्रतिशत अनुदान भने नपाइने बताइएको छ । सरकारले अन्य प्रकारका कृषि बीमाको बीमाशुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको थियो । कृषि मन्त्रालयको आग्रहमा कालिजको बीमामा भने अनुदान रकम कटौती गरिएको हो ।
आगलागी, चट्याङ, भुकम्प, बाढी तथा डुवान, पहिलो तथा भुस्खलन, आँधीवेहरी, असिाना हिउँ, तुसारो, आकस्मीमक तथा दुर्घटजना जन्य बाह्य कारण, रोगबाट हुने हानी वा क्षतिको यस बीमालेखले रक्षावरण गर्दछ । बीमालेखको अवधी भित्र दुर्घटनाका कारण बीमितको मृत्यु भएमा २ लाख रुपैयाँ भुक्तानी गरिने व्यवस्था पनि रहेको छ ।
तर, पन्छी धनी वा निजको परिवारका सदस्य वा कर्मचारीको लापारवाहीले वा जानजान वा मनोरञ्जनका उद्देश्यबाट वा रिसईवीपूर्ण व्यवहारको कारणबाट बीमित पन्छी मरेमा दावी भुक्तानी गरिने छैन । 
साथै, बर्डफ्लु का कारण बीमित पन्छी मरेमा, सरकारी निकायको आदेशमा बीमित पंक्षी नष्ट गर्नु परेमा, बीमित पन्छी हराएमा वा चोरी भएमा पनि यस बीमालेखले रक्षावरण गर्ने छैन । 
किसानले कालिजको बीमा गर्न प्रतिबर्ष बीमांकको ५ प्रतिशतका दरले बीमाशुल्क तिर्नुपर्ने हुन्छ । दाना खर्च, निर्धारित गुणांक र चल्लाको मुल्यको आधारमा एक कालिजको बीमांक गणना गरिने छ ।
किसानले बीमित पंक्षी मरेको सात दिन भित्र सम्बन्धीत कम्पनीमा आवश्यक कागजपत्र सहित दावीका लागि निवेदन दिनुपर्ने हुन्छ । त्यसपछि आवश्यक प्रक्रिया पुराएर कम्पनीले दावी भुक्तानी दिन सक्छ । तर, बीमालेखले रक्षावरण नगरेका जोखिमका कारण पंक्षी मरेमा बीमालेखले कुनै पनि दावी भुक्तानी दिने छैन ।

६ बर्ष अगाडि

प्रतिक्रिया