बल्खु–छैमले–सिस्नेरी–कुलेखानी सडकखण्ड निर्माणमा तीव्रता ल्याउन निर्देशन

५ बर्ष अगाडि

वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले  काठमाडौँको बल्खुदेखि हेटौँडा जोड्ने मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने छैमले–सिस्नेरी–कुलेखानी सडकखण्डको गुणस्तरीयका साथ निर्माण कार्यमा तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताएका छन ।

उनले इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मकवानपुरको सिमाना र काठमाडौँको छैमलेमा आज दुवैतर्फका उपभोक्ता समितिको भेलालाई सम्बोधन गर्दै केन्द्रीय राजधानी काठमाडौँलाई यदाकदा सडक अवरुद्ध हुँदा आइपर्ने खाद्यान्न, इन्धन र निर्माण सामग्रीको आपूर्तिमा सहज तुल्याउन उक्त राजमार्गलाई अब फराकिलो र गुणस्तरीय ढङ्गबाट निर्माण कार्य प्रारम्भ गर्न एक हप्ताभित्र जनपरिचालनसहित प्राविधिक टोली खटिने भएको उल्लेख गरे । 

मन्त्री फुयाँलले उक्त राजमार्ग निर्माणका लागि प्रदेश सरकारले आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराउने जानकारी दिए । उक्त भेलामा तत्कालीन संविधानसभाका सदस्य सुवासचन्द्र ठकुरीले स्थानीय उपभोक्ता समिति र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको प्राविधिक टोलीको निगरानीमा छिट्टै गुणस्तरीय मापदण्डअनुरुप निर्माण कार्यलाई तीव्रता दिइने, मकवानपुर र काठमाडौँका विभिन्न राजनीतिक दलका प्रतिनिधि स्थानीय निकायबीच समन्वय गरी आवश्यक स्रोतसाधन उपलब्ध गराई बल्खु–छैमले–सिस्नेरी र कुलेखानी सडकखण्डमा यातायातको आवतजावतलाई थप सुविधा उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गर्ने बताएका छन । 

उक्त भेलामा काठमाडौँको दक्षिणकाली नगरपालिकाका प्रमुख÷उपप्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समिति र मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालगायत विभिन्न उपभोक्ता समिति तथा मन्त्रालयका प्राविधिकको सहभागिता थियो । काठमाडौँको रत्नपार्क र कालीमाटीबाट मकवानपुरको फाखेल र सिस्नेरी हुँदै कुलेखानीको कलङ्कीसम्म दैनिक यात्रुवाहक बस आवतजावत गर्ने गरिएको पनि इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया