काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनाको परीक्षण शुरु भएको छ ।
कूल ४५६ मेगावाट क्षमताको आयोजनाको आइतबार देखि परिक्षण सुरु हुने भएको हो । कूल ९९ प्रतिशत निर्माण पूरा भएको आयोजनाको संरचनामा पानी भरेर परीक्षण गर्न लागिएको हो ।
अबको ४ दिनमा बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । उनका अनुसार बाँध क्षेत्रका संरचनामा केही समस्या भए नभएको परीक्षण गरेर हेर्न लागिएको हो ।
आगामी असारभित्र पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम हुँदैछ, । संरचनाबाट पानी चुहिने समस्या आएमा मर्मत गरेर ठिक गर्नुपर्छ ।’ उनले २ सातासम्म सबै संरचनामा पानी भरेर हेर्ने बताए । बाँध क्षेत्रका संरचनाको परीक्षण पूरा भइपछि अन्य संरचनाको पनि क्रमशः परीक्षण गरेर हेरिने उनले बताए ।
देशकै ठूलो आयोजनाको २२ मिटर उचाई तथा ६० मिटर चौडाई भएको बाँध निर्माण गरिएको छ । बाँधमा ८ वटा गेट छन् । जसमा ४ वटाबाट निकास हुने पानी डिसेन्डर बेसिन हुँदै मुख्य सुरुङमार्फत विद्युतगृहमा पुगेर विद्युत उत्पादन हुनेछ ।
पहिलो युनिट सञ्चालनमा आएपछि क्रमशः बाँकी युनिट पनि राष्ट्रिय प्रणालीमा जडान गर्दै जाने आयोजनाले जनाएको छ ।
प्रतिक्रिया