फ्रेण्डसीपको कपको उपाधि दोभानलाई

५ बर्ष अगाडि

तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रण्डसीप युवा क्लबले आयोजना गरेको दोस्रो फ्रेण्डसीप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा व्यास नगरपालिका–३ स्थित रिभरसाइड युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै व्यास नगरपालिका–१ स्थित दोभान युवा क्लबले उपाधि जितेको हो ।

प्रतियोगितामा खेलको आठौँ मिनेटमा दोभानका लागि जर्सी नं १४ का विकास श्रेष्ठले पहिलो गोल गरेका थिए। बाह्रौँ मिनेटमा रिभरसाइडका जर्सी नं ११ का दिपेश आलेले एक गोल गरेर खेललाई बराबरीमा ल्याए । खेलको १८औँ मिनेटमा दोभानका श्रेष्ठले पुनः एक गोल गर्दै टिमलाई जिताए ।

प्रतिस्पर्धात्मकरूपमा भएको खेलका विजेता रिभरसाइडले रु एक लाख ११ हजार १११ र ट्रफी हात पार्न सफल भएको छ भने उपविजेता रिभरसाइडले रु ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी रिभरसाइडका सरोज योञ्जन, सर्वाधिक गोलकर्ता रिभरसाइडकै दिपेश आले र उत्कृष्ट गोलरक्षक दोभान युवा क्लबका शिव श्रेष्ठ घोषित भए।

शनिबार नै भएको सेमिफाइनलमा बागबजार युवा क्लबलाई ३–१ ले पराजित गर्दै रिभरसाइड फाइनलमा प्रवेश गरेको थियो भने ठूलोगाउँ युवा क्लबलाई २–० ले पराजित गर्दै दोभानले फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

उपाध्यक्ष बालकृष्ण घिमिरेले युवाको प्रतिभा प्रस्फुटन गर्न खेलकूदले सहयोग पु¥याएको चर्चा गर्दै गाउँपालिकाले गर्नुपर्ने काम युवा क्लबले गरेर उदाहरणीय कार्य गरेको बताए । युवालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले फागुन १८ गतेदेखि शुरु भएको प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष दुर्गाराज थापाले जानकारी दिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया