ऋण तिर्न नसकेपछि डालिमा लिलामीमा

५ बर्ष अगाडि

प्रभु विकास बैंकले किस्ट बैंक गाभेलगत्तै डालिमा केटर्स एण्ड रिर्सोट्स प्रालिलाई ऋण दिएको थियो। होटलले केही वर्षसम्म नियमित ऋण तिरेको थियो। तर गत वर्षदेखि ऋण तिर्न बन्द गरेको छ। ऋण भुक्तानी नगरेपछि प्रभुले लिलामीमा राखेको हो।

कुरिनटारको पृथ्वी राजमार्गसँगै जोडिएको यो होटल केही वर्ष अघिमात्रै कृष्णबहादुर कुँवरले किनेका हुन्। कुँवर हस्पिटालिटी क्षेत्रमा परिचित व्यक्ति हुन्। उनी उनको नगरकोटमा पनि सिरिन माउन्टेन रिर्सोट छ भने पुल्चोकको भाटभटेनी नजिकै एम्बर्स रेष्टुरेन्ट पनि छ।

उनले किन्नु भन्दा अघि यो होटलको नाम डालिमा हाइवे रिर्सोट थियो। राजमार्ग हुँदै विभिन्न क्षेत्रमा जाने आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गर्दै दुई दशक अघि स्थापना भएको यो होटल बीचमा बन्द भएको थियो। केही वर्ष अघि मात्रै यो होटल कुँवरले किनेपछि ठूलो लगानी गरेर आन्तरिक र वाह्य सजावट परिवर्तन गरेका थिए।

 होटलमा थप लगानी गरेर सेमिनार हलदेखि स्वीमिङ पुल समेत बनाएका थिए। होटलमा विभिन्न विवाह र ब्रतवन्धसमेत गर्न मिल्नेगरि हलहरु समेत बनाएका थिए। त्यो बाहेक पनि होटल अगाडि मार्ट पनि संचालनमा ल्याएका थिए।  ठूलो लगानी गरेर होटलको स्तरोन्नति गरेपनि प्रर्याप्त पर्यटक आएनन्। ‘होटलमा शुक्रबार र शनिबार भने पर्यटकको संख्या बढ्थ्यो भने अरु दिन खालीनै हुन्थ्यो,’ होटलका एक कर्मचारीले भने, ‘लगानी अनुसार पर्यटक नआउँदा समस्याले गाँज्दै लग्यो।’

होटलको अरु संचालकमा शारदा कुँवर, दिपेश कुँवर र दीपा कुँवर छन्। उनीहरुले टप नच प्रोपर्टीका नामबाट पनि ऋण लिएका थिए। अब होटल र प्रोपर्टी कम्पनीले धितोमा राखेको सम्पत्ति लिलामीमा जानेछ।

कम्पनीले ललितपुर सुनाकोठीको जग्गा धितोमा राखेको छ। त्यहाँ कम्पनीको १९ रोपनी जग्गा र घर छ। त्यो घरमा उनी बस्दै आएका छन्। यसबाहेक टप नच प्रोपर्टिज प्रालिको स्वामित्वमा रहेको चालु सम्पत्ति तथा हाइपोथिकेसन धितो पनि छ। कुँवरको कलंकीमा व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्न मिल्ने घर छ भने जोरपाटीमा करिब ४० वटा सटर रहेको अर्को घर पनि छ।

कुँवर पुराना पश्मिना व्यवसायी हुन्। उनले पश्मिनामा निर्यात गरेको भन्दै सरकारबाट समेत सम्मानित भएका थिए। अहिले भने उनले पश्मिना ब्यवसाय छाडिसकेका छन्।

कसरी परे आर्थिक संकटमा

हस्पिटालिटी क्षेत्रमा नाम कमाएका कुँवरको आर्थिक संकटका पछाडि व्यवसायिक असफलताभन्दा पनि पारिवारिक किचलो प्रमुख कारण हो।

परिवारसँग नजिक रहेको एक व्यवसायीका अनुसार छोराको बिहे भएलगत्तै सम्बन्ध राम्रो रहेन। बुहारीले एक वर्षमै छोरालाई डिभोर्स दिइन्। डिभोर्सपछि जायजेथा बाँडफाँटको मुद्दामा कुँवर परिवार रुमलिन पुग्यो।

‘मुद्दा मामिलाले कुँवर परिवारले व्यवसायिक क्षेत्रमा ध्यान दिन सकेन। सम्पत्ति रोक्का लगायतको समस्या पनि भोग्नुपर्‍यो,’ ती व्यवसायीले भने, ‘हस्पिटालिटी क्षेत्रमा राम्रो नाम कमाएको व्यक्ति परिवारिक विवादमा फसेका कारण समस्यामा परे।’

उनको सम्पत्ति लिलामबाट किन्न चाहनेहरुले आगामी १५ दिनभित्र आवेदन दिनु पर्नेछ। बैंकले सञ्चालकहरुलाई यही १५ दिनभित्र ऋण तिर्न पनि भनेको छ। १५ दिनभित्र ऋण नतिरे सञ्चालक तथा जमानतकर्तालाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने बैंकले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया