राष्ट्रिय खेलकूद विकास विधेयक पारित

६ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गरेका थिए । यस्तै बैठकले ‘ कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । 

सो विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । यही फागुन १९ गते सोमबार सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित गरिएको थियो । नेपाली काँग्रेसका सांसद पार्वती डिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेको भए पनि निर्णयार्थ पेश हुन सकेको थिएन । 

यस्तै, आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गरेको सो प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । 

बैठकले ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सो प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया