सेयर बजार परिसूचक नेप्सेमा सोमबार दोश्रोपटक सर्किट ब्रेक लागेपछि कारोबार स्थगीत गरिएको छ ।
दोश्रो पटक ६ प्रतिशतले बजार घटेपछि दिनभरकै लागि बजार बन्द गरिएको हो ।
सोमबार पहिलोपटक १२ बजेर ४६ मिनेटमा सर्किट ब्रेकर लागेर १ः२६ मा खुलेको बजार त्यसको ३ मिनेटमै अर्थात १ बजेर २९ मिनेट जाँदा ६ प्रतिशतले घटेको थियो ।
१ बजेर २९ मिनेट जादा रोकिएको बजार ९६ अंकले ओरालो लागेको नेप्से परिसूचक १ हजार ४ सय ९५ दशमलव ३० अंकमा आइपुगेको छ । कारोबार रकम २ अर्ब १५ करोड रुपैयाँ बढी भएको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । नेपाल लाइफको आइतबार १५ करोड ६८ लाख ११ हजार २ सय ५६ रुपैयाँको सेयर किनबेच भएको छ ।
एनआइशी एशिया बैंक र एनएमबि बैंक कारोबार रकमका आधारमा दोस्रो र तेस्रो नम्बरमा देखिएका छन् । एनआइसी एशियाको १४ करोड ६१ लाख ५२ हजार १ सय ५० रुपैयाँको कारोबार भएको छ भने एनएमबिको ८ करोड ९५ लाख २३ हजार ६ सय २० रुपैयाँको सेयर किनबेच भएका छन् ।
बजारमा कारोबार हुने सबै उपसमूहहरु राताम्मे देखिएका छन् । सबैभन्दा धेरै घट्नेमा बीमा र बैंकिङ उपसमूहहरु देखिएको छन् । निर्जिवन बीमा उपसमूह ७ दशमलव ४६ अंकले ओरालो लागेको छ भने जीवन बीमा उपसमूह ७ दशमलव ४५ अंकले घटेको छ ।
केहि दिन यता लगानीकर्ताको आकर्षणको केन्द्र बनेको बैंकिङ उपसमूह ६ दशमलव ७४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
किन गरिन्छ सेयर काराेबार स्थगित ?
स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोवार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ ।
यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन् । बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेन्जले यस्तो व्यवस्था गरेको हो ।
प्रत्येक दिन सेयरको प्रथम कारोबार हुँदा उक्त सेयरको अघिल्लो दिन कायम भएका अन्तिम मूल्यको ५ प्रतिशत र त्यसपछिका कारोबारहरुका लागि २ प्रतिशतसम्म मात्र घटिबढी हुने गरी कारोबार हुन्छ ।
डिवेन्चर भएमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछिका कारोबारहरुमा ०.१ प्रतिशतसम्मको दरले मूल्य परिवर्तन हुन सक्छ ।
यसैगरी कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ ।
प्रतिक्रिया