बन्दका क्रममा बीसभन्दा बढी पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आजका लागि आह्वान गरेको नेपाल बन्दमा सो पार्टीका २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । 

प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए  । उनले बन्दको खासै प्रभाव नपरेको र जनतालाई त्रसित पार्न बन्दकर्ताले विभिन्न स्थानमा आज नक्कली बम राखेको बताए  । 

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले राजधानीमा बन्द गराउँदै हिँड्ने चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

सिंहदरबार आसपासको क्षेत्रबाट तीन र गौशालाबाट एकजना पक्राउ गरेको उनले बताए  । राजधानीमा बन्दको कुनै प्रभाव नपरेको तथा सर्वसाधारणको अन्य दिन झैँ सामान्य दैनिकी चलेको उनको  भनाइ छ । 

यसैबीच, नेकपाका महासचिव चन्दले आज जारी गरेको  विज्ञप्तिमा देशभरबाट सयौँ नेता तथा कार्यकर्ता पक्राउ गरिएको उल्लेख छ । पक्राउ नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्न महासचिव चन्दले आग्रह गरेका छन्  । 

७ बर्ष अगाडि

प्रतिक्रिया