मदन भण्डारी राजमार्गको सर्भे विवाद टुङ्गियो

५ बर्ष अगाडि

मदन भण्डारी राजमार्गको सर्भेमा देखिएको विवाद टुङ्गिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट हुँदै लैजाने विषयमा सहमति जुटेपछि आयोजनालाई सर्भे गर्न बाटो खुलेको छ ।

 सोही क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतको पहलमा शुक्रबार उक्त विवाद समाधान भएको हो । 

राजमार्ग सालकोट या बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा त्यस क्षेत्रका बासिन्दा विभाजित थिए । 

सहमतिअनुसार अब मदन भण्डारी राजमार्ग सालकोटको रुट भएर जानेछ भने खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकको राजमार्गसरहकै स्तरोन्नति गरिनेछ । 

२० किमि लम्बाइ रहेको खम्बागाडे–बाबियाचौर–विद्यापुर सडकलाई ५० मिटर चौडाइको बनाउन विस्तृत सम्भाव्यता अध्ययनको काम पनि शुरु गरिएको छ । 

अब यो सडक पनि मदन भण्डारी राजमार्गसरहकै मापदण्डअनुसार बन्नेछ । सालकोट र बाबियाचौर क्षेत्रका बासिन्दाको विवादका कारण पछिल्लो समय सर्भे कार्य रोकिएको थियो । 

राज्यमन्त्री रावतले खम्बागाडे पुगेर सम्भाव्यता अध्ययनको  शुरुआत गरेको थियो । 

विकासमा विवाद गर्न नहुने भन्दै उनले पश्चिम सुर्खेत राष्ट्रिय राजमार्गमा जोडिन सफल भएकामा खुशी व्यक्त गरेका थिए ।

 “निर्वाचनका बेलाको एउटा प्रतिबद्धता पूरा गर्दैछु, राजमार्गसँगै सोही मापदण्डको विद्यापुर जोड्ने सडकको विस्तृत परियोजना प्रतिवेदन र आइईको काम पनि शुरु गरिएको छ”, उनले भने, “विकासमा हामी सहयोगी बनौँ, सानातिना विवाद आएमा तत्कालै बसेर समाधान खोजौँ ।” उनले खम्बागाडे–विद्यापुर सडकका लागि आगामी वर्ष बजेट जुटाउने प्रतिबद्धता जनाउनुभयोए । उनले विकास निर्माणमा आउने विवादको समाधानको नेतृत्व गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे ।
 
विवाद समाधानका लागि आयोजित भेलामा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, सालकोट÷बाबियाचौर क्षेत्रका बासिन्दाको उपस्थिति थियो । 

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री रावतले सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक साताभित्र चिकित्सक पठाउने प्रतिबद्धता व्यक्त गरेका छन।
 

५ बर्ष अगाडि

प्रतिक्रिया