काठमाडौँ । चीन जोड्ने एक मात्र नाका रसुवागढी बन्द भएको आज एक महिना पूरा भएको छ । केही दिन फाट्ट फुटट् मात्रै चलेको सवारी समेत पछिल्लो दिनमा पहिरोका कारण रोकिएको छ ।
सडक अवरुद्ध भएको लामो समय भएपनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा बाटैमा अर्बौ मूल्यको सामान अलपत्र भएको छ भने भन्सार राजश्वमा गिरावटमा आएको छ ।
चीनसँगको व्यापारिक कारोवार गर्ने एक मात्र उत्तरी रसुवागढी नाकाको राजमार्ग नियमित सञ्चालन गर्न जिम्मेवार निकाय सक्रिय नहँुदा दैनिक रु ३ करोड भन्सार राजश्व उठन सकेको छैन ।
रसुवा भन्सार कार्यालय टिमुरेकाअनुसार करिब एक ्अर्ब १५ करोड बराबरको राजस्व उठन सकेको छैन ।
लक्ष्यबमोजिम गत साउनमा रु २६ करोड र भदौमा लक्ष्यबमोजिम रु ३६ करोड राजश्व घाटा परिसकेको प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले जानकारी दिएका छन् ।
रसुवागढी छेउमा गाडी परिवर्तन गर्न सहज भए पनि धुञ्चे नजीक त्रिशूली नदीका दुई पहिरोे क्षेत्रमा जङ्गलको बाटो ढुवानी गर्न असहज भएको छ ।
पहिलो चरणमा त्रिशूलीको छेउका दुई पहिरोमध्ये धुञ्चेतर्फको हटाइए पनि गए रातिको वर्षाले माथिबाट विशाल ढुङ्गा झरी पुनः राजमार्ग अवरुद्ध भएको छ ।
रसुवाका प्रजिअ कृष्ण पौडेलले चिनियाँ पर्यटक र स्थानीय बासिन्दाका लागि नेपाली सेना कालीजङ्ग गणद्वारा नयाँ पैदल मार्ग खोलिएको बताए ।
अहिले ढुङ्गा फुटाउने काम अगाडि बढाइएको छ । सडक कार्यालयको जिम्मा रहेको गल्छी–रसुवागढी राजमार्गको पहिरो हटाउन विस्फोटनका लागि नेपाली सेनाका प्राविधिक समूह र कम्प्रेसर मेशिन झिकाई कामको शुरुआत भए पनि डिभिजन सडक कार्यालयले ढुङ्गा प्वाल पार्ने दक्ष जनशक्ति र क्षमतावान् स्काभेटर व्यवस्था गर्न सकेको छैन ।
एक दिनका लागि मङ्गलबार निजी क्षेत्रबाट स्काभेटर झिकाई थोरबहुत पहिरो पन्छाउने कार्य भएको प्रजिअ पौडेलले बताउनुभयो ।
चीनबाट नेपाली बजारका लागि ल्याइएको स्याउ तथा नास्पाती राजमार्गमा कुहिन थालेको छ । स्याउ त्रिशूली नदीमा फ्याँकिएको छ ।
व्यवसायीले मगाएका हजार खेपभन्दा बढी अर्बौं रुपैयाँका सामान ढुवानी हुन नसक्दा काठमाडाँैको बजारमा सामानको माग आपूर्ति गर्न कठिनाइ भइसकेको छ ।
उत्तरी रसुवामा पनि खाद्यान्न अभाव हुन थालेको स्याफ्रुबेंसीका व्यापारी व्यवसायीले बताएका छन् ।
चार हजार १८५ मिटर हेडरेस सुरुङ निर्माण गरी लक्षित समयमा निर्माण सम्पन्न गर्न लागेको १११ मेगावाटको रस्ुवागढी जलविद्युत् आयोजनाको निर्माण सामग्री भने अब आठ दिनका लागि मात्र मौज्दात रहेको छ ।
पहिरो पार गर्दै गाडी परिवर्तन गरेर मानसरोवर कैलाश जान लागेका भारतीय तीर्थयात्रु भने काठमाडौँदेखि स्याफ्रुबेंसीसम्म हेलिकोप्टरबाट जान थालेका छन् ।
छिटोछरितो पहिरो व्यवस्थापनबाट राजमार्ग सञ्चालन गरी राज्यको भन्सार राजश्व अभिवृद्धि, विद्युत् आयोजनाको सामान, व्यापारी व्यवसायीको सामान ढुवानी, स्थानीय बासिन्दाको दैनिक उपभोग्य वस्तु ढुवानी र एम्बुलेन्स गुडाई बिरामी अस्पताल लानका लागि सहजता ल्याउन सडक कार्यालय गम्भीर हुनुपर्ने भएपनि हालसम्म त्यस्तो गम्भीरता देखिएको छैन ।
प्रतिक्रिया