कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी आएको छ । सो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ ।
क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी हुने गरेको कार्यालय प्रमुख रामचन्द्र ढकालले जानकारी दिए।
उहाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा रु सात करोड २९ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि विगत तीन महिनाको अवस्था हेर्दा असुली रकम न्यून छ ।
कार्यालयले मङ्सिरमा रु ५८ लाख लक्ष्य राखेकामा रु ४७ लाख, पुसमा रु ५६ लाख राखेकामा रु ३८ लाख र माघमा रु ५४ लाख लक्ष्य राखेकामा रु ३७ लाख मात्र राजश्व सङ्कलन गरेको छ ।
यस क्षेत्रमा आयात गर्ने सामग्री घरायसी प्रयोजनको हुने भएकाले न्यून हुँदै गएको उनी बताउछन ।
“क्वारेन्टाइन भइदिएको भए पशुजन्य वस्तुको पनि आयात बढ्ने थियो । दैनिक उपभोग्य वस्तुको यहाँ धेरै माग छ तर क्वारेन्टाइन नभएकै कारण ल्याउँदा सीमित मात्रामा ल्याउनुपर्ने यहाँका व्यापारीको बाध्यता छ ।” कार्यालय प्रमुख ढकाल भन्छ्न, “क्वारेन्टाइन नहुँदा स्थानीय बासिन्दा पनि विवाह, भोज, पूजा आदिका नाममा सामान ओसार्ने गर्दछन् । यिनलाई कडाइ गर्न पनि सकिएको छैन । राजश्व सङ्कलनमा पनि घाटा भएको छ ।”
यहाँ रहेको क्वारेन्टाइन जाँचचौकी सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको हो । सो कार्यालय पुनःस्थापना गर्न यहाँका नागरिकले माग गर्दै आएका छन् । क्वारेन्टाइनको जाँचका लागि भौतिक संरचनाको अभाव छैन । कर्मचारी र जाँचका लागि उपकरण नहुँदा समस्या हटाउन पशुपक्षी विकास मन्त्रालयमा माग गरेको उनले बताए ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आफूहरुले प्रदेश र केन्द्र सरकारका साथै पशुपक्षी विकास मन्त्रालयमा यस भन्सारलाई प्राथमिकतामा पार्न अनुरोधसहित माग पेश गरेको जानकारी दिए । “हामीले पटक–पटक क्वारेन्टाइनको माग गरेका छौँ ।
यहाँको व्यापारिक विकासका लागि पनि क्वारेन्टाइन आवश्यक छ ।” उनले भने, “क्वारेन्टाइले राजश्व सङ्कलनमा वृद्धि मात्र नभई स्थानीय व्यापारीलाई व्यापार जोखिमबाट बचाउने, विभिन्न किसिमका आयातित रोग प्रकोपबाट बच्न सहयोग पुग्छ ।” व्यापारी शेरबहादुर साउद भन्सारबाट आयात हुने वस्तुको जाँचका लागि क्वारेन्टाइन आवश्यक रहेकाले सबैले पहल गर्न आवश्यक रहेको बताउछ्न ।
प्रतिक्रिया