रामपुरमा छाडा गाईले अन्नबाली खाएपछि गौशाला निर्माण

६ बर्ष अगाडि

छाडिएका गाईको संरक्षण गर्न यहाँ निर्माण गरिएको गौशाला  सञ्चालनमा आएको छ । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा रहेको सो गौशालामा करिब ६० गाई राखिएको छ । 

नगर प्रमुख रमणबहादुर थापाले शुक्रबार शुभारम्भ गर्दै गाईलाई माताका रुपमा  पूजाआजा गरिने भएकाले संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको जानकारी दिए । 

 नगरपालिकाले दुई आर्थिकक वर्षमा रु ४० लाख  विनियोजन  गरेको थियो । 

गौशाला सम्पन्न नहँदासम्म गत साउनबाट वडा नं ६ को कार्यालय परिषरमा नै अस्थायी बारबन्देज गरेर दुई जना हेरालु राखेर संरक्षण  गरिँदै आइएको थियो  । 

छाडा गाईले कृषकका खेतबारीका अन्नबाली खाएर सताउन थालेपछि गौशाला निर्माण शुरु गरिएको थियो  । 

 करिब १५ रोपनी क्षेत्रफलमा गौशाला निर्माण गर्ने काम अहिले भएको छ । गौशालामा छाडा गाई लगेर बाँध्न थालेपछि यहाँका कृषक अहिले खुशी भएका छन् । खेतबारीमा लगाइएका अन्नबाली खाएर रातदिन सताएर उत्पादन नै लिनै नसक्ने अवस्था रहेको कृषक गङ्गा बस्यालले बताए । 

यसैवीच,गौमाता संरक्षण गर्न रामपुर नगरपालिकाको आयोजनामा यही फागुन १२ गतेदेखि २० गतेसम्म हुने श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ । 

थप गौशाला निर्माण र यहाँ धर्मशाला बनाउनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष तथा नगर प्रवक्ता हुमनाथ न्यौपानेले जानकारी दिए ।

महायज्ञ अवधिभर रु पाँच करोड दान सङ्कलन गर्ने लक्ष्य रहेको छ ।  महायज्ञबाट उठेको रु पाँच करोड रकममध्ये तीन करोड रकम धर्मशाला निर्माणमा खर्च गर्ने र बाँकी रु दुई करोड रकम गौशालाको दिगो विकासका लागि प्रयोग गरिने छ । 
 
एक अपाङ्गमैत्री र १०० अन्य व्यक्ति अट्ने खालको सुविधा सम्पन्न धर्मशाला बनाउने योजना छ । 

तातोपानीधाममा निर्माणाधीन अवस्थामा रहेको गौशाला परिसरमा हुने भएको महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेले सङ्गीतमय शैलीमा कथावाचन गर्नै छन । 

महायज्ञको प्रचारप्रसारको कामलाई तीव्र रुपमा अगाडि बढाइएको प्रचारप्रसार उपसमितिका संयोजक दुर्गेश मल्लले बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया