साढे दुई करोडको लागतमा विकट गाउँमा लिफ्ट खानेपानी आयोजना शुरु

६ बर्ष अगाडि

पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु भएको छ । 

रु दुई करोड ५० लाखको लागत अनुमान रहेको सो आयोजनाको शुक्रबारदेखि निर्माण शुरु भएको हो । गण्डकी प्रदेश सरकारले रु साढे दुई करोड बजेट विनियोजन गरेको जनाइएको छ ।

विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले यहाँका बासिन्दा अब खानेपानीको समस्याबाट मुक्त हुने र समयमै काम सम्पन्न गराउनको लागि स्थानीयवासीसमेत क्रियाशील हुनुपर्नेमा जोड दिए । 

खानेपानीको विद्युत् महशुल गाउँकार्यपालिकाबाटै भुक्तानी हुने गरी व्यवस्था मिलाउने तयारी गरेको जनाइएको छ । 

रानीपानीको भाटीचौर, साउथर, कुमालगाउँ, पस्यारलगायतका ठाउँका १५० भन्दा बढी बासिन्दा आयोजनाबाट लाभान्वित हुने वडा नं ३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिए ।

आयोजनाको काम शुरु भएसँगै स्थानीयवासी निकै हर्षित भएका छन् । रानीपानीमा अर्को बृहत् अरेबा लिफ्ट खानेपानी आयोजनाको कामसमेत शुरु हँुदैछ । 

यी दुई खानेपानी आयोजना सञ्चालन भएपछि वर्षौंदेखिको खानेपानीको समस्या बाट पूर्ण मुक्त हुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया