कैलालीका किसान मेन्था खेती प्रति आर्कषित हुदै

६ बर्ष अगाडि

पछिल्लो समय कैलालीका किसान परम्परागत खेतीभन्दा अन्य खेतीमा रमाउन  थालेका छन् ।

धान, गहुँ तोरीजस्ता बालीबाट सोचेजस्तो आम्दानी नपाएपछि थप आम्दानी बढाउन जडीबुटी खेती गर्न थालेका हुन् ।  

किसानले तेस्रो बालीको रुपमा यस क्षेत्रका मेन्था रोप्न थालेका छन् । सो खेतीबाट राम्रो आम्दानी हुनुको साथै अर्को बालीको उत्पादन बढाउनमा समेत सहयोग पुग्ने बताइएको छ । 

टीकापुर नगरपालिका र जानकी गाउंपालिकामा यस वर्ष ६० बिघा क्षेत्रफलमा मेन्था खेती विस्तार हुँदैछ । रोग, प्रकोपको जोखिम नहुने, कम लगानीमा राम्रो आम्दानी हुने भएकाले किसान यो खेतीमा आकर्षित हुन थालेका हुन् । 

मेन्था खेतीले मलको समेत काम गर्ने भएकोले अर्को बालीलाई समेत फाइदा पुग्ने जडीबुटी प्रशोधन तथा खेती विस्तार कार्यालय टीकापुरका प्रमुख कमल बेल्वासे बताउछन ।

 “यस वर्ष मेन्था खेती गर्ने किसान र क्षेत्रफल बढेको देखिन्छ । हामीले पनि क्षमता विकास गरेका छौँ ।” उनले भने, “खेती गर्ने किसान बढ्दै गएपछि हामीले मेन्था प्रशोधन गर्ने मेशिनसमेत थप गरेका छौँ ।”
    
मेन्था खेतीको लागि अहिलेसम्म ८० जना किसानले तीन टन मेन्थाको सकर लगिसकेको र प्रत्येक दिन मेन्थाको सकर लिने आउने कृषक बढिरहेको कार्यालय प्रमुख बेल्वासेले जानकारी दिए ।  “मेन्था माघदेखि चैतको पहिलो साता सम्म रोप्न सकिन्छ ।” उनी भन्छ्न, “दैनिक किसानलाई आवश्यक पर्ने सकर दिइरहेका छौँ । यो खेती गर्दा किसानलाई बजारको झण्झट पनि छैन । हामी जति उत्पादन हुन्छ सबै खरिद गरिदिन्छौँ ।”

मेन्था प्रतिकट्ठा छदेखि आठ किलोग्राम सकर लाग्ने गर्दछ र यसको लागि जडीबुटी कार्यालयले किसानलाई बिना लगानी सहुलियत रुपमा मेन्थाको सकर दिने गरेको छ । 

यसले  किसान सहजरुपमा खेती गर्न सकिने र प्रशोधन तथा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समयमा किसानले यो खेतीप्रति रुचि बढाएको कार्यालयले जनाएको छ ।

टीकापुरको बनागाउंका श्यामल चौधरीले दुई वर्षदेखि मेन्था खेती गरिरहनुभएको छ । १० कट्ठामा सो खेती गरेका उहाँले यस वर्ष दुई बिघामा खेती गर्दै हुनुहुन्छ । “धान खेती गरे, त्यसपछि तोरी पनि लगाए । अहिले फेरि मेन्था रोप्दैछौँ ।” उनी भन्छ्न, “अहिले रोपेको मेन्था जेठमा तयार भइसक्छ । खेत बाँझो राख्नुभन्दा थप आम्दानी लिन सकिन्छ ।” 

विसं २०४९ देखि पाँच प्रकारका जटीबुटी खेतीलाई विस्तार गर्दै खेती आएको केन्द्रले किसानलाई अनुदान तथा राहतका कार्यमा सहयोग गर्नुपर्ने किसानको माग छ । जानकी गाउँपालिकाका मानबहादुर चौधरीले मेन्थाको उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहित गर्न अनुदान दिन आवश्यक रहेको बताए । 

 

६ बर्ष अगाडि

प्रतिक्रिया