न छेक्यो उमेरले न भुगोलले

६ बर्ष अगाडि

भनिन्छ, कलाको सीमा हुँदैन । भूगोलले छेकिन्न प्रतिभा, न रोक्छ उमेरले । इजरायलकी तान्या प्रिमेन्जरमा पनि यो लागू हुन्छ । उमेर ७५ वर्ष । बुढ्यौलीले पछ्याएको शरीर । र, पनि कला कर्ममा उस्तै वेग, समर्पण ।

तान्या यसबेला ढुङ्गामा प्रकृति–चक्र र जीवको सहअस्तित्व खोज्दै छिन । चरा र सर्पलाई आकाश–धर्तीका रूपमा प्रतिविम्वित गर्दै छिन । गलकोट नगरपालिका–५ टेउवामा जारी अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाकै ज्येष्ठ कलाकार हुनु, तान्या ।

सोभियत युनियमा जन्मनुभएकी तान्या सन् १९७२ देखि इजरायलमा बस्दै आएकी छिन । सन् १९६९ मा मस्कोको ‘सुरिकोभ एकेडेमी अफ् आर्टस्’ बाट स्नातकोत्तर गर्नुभएकी तान्याको यो दोस्रो नेपालयात्रा हो । उनले यही फागुन २१ गतेसम्म टेउवामै बसेर मूर्ति कुँद्नुछिन । प्रकृति र जीवजगत्को साइनोलाई कलामा अभिव्यक्त गर्नैछिन । अन्तर्राष्ट्रिय मूर्तिकारका रूपमा ख्याति कमाएकी तान्या कलाका विभिन्न माध्यममा काम गर्छिन ।

कार्यशालाका संयोजक एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ ओम खत्रीका अनुसार मूर्तिकलासँगै दृश्यकला, ‘इन्स्टलेसन’, ‘फोटोग्राफी’लगायतमा उनको दक्षता छ । “यहाँ आउन पाउँदा रमाइलो अनुभव भइरहेको छ”, तान्याले  भनिन, “अहिलेसम्म कला कार्यशाला, प्रदर्शनीका लागि एक सय जति देशमा पुगेँ ।” 

उनले नेपाल आउँदा यहाँको प्रकृति, संस्कृति, गाउँले सत्कार बढी मन परेको उल्लेख गरीन । तान्याले सिर्जना गरेका मूर्तिकलाका कृति विभिन्न देशका सडक, चोक, बगैँचा र सौखिन व्यक्तिका घरमा सजिएका छन् । उहाँले देश विदेशबाट कैँयन मान, पदवी र पुरस्कार पाएकी छिन ।

विद्यालय तहदेखि नै कला विषय पढेको सुनाउँदै तान्याले मूर्तिकला आफ्नो जीवनको लक्ष्य रहेको बताइन । पाको उमेरमा पनि कलाकर्ममा उहाँको सक्रियता देखेर अरु दङ्ग छन् । कार्यशाला अवलोकनमा जाने रुचिपूर्वक उनको काम हेर्छन् । समुद्रपारिको देशबाट आउनुभएकी तान्याले रचना गरेको कला, कृति नेपालमा सङ्ग्रहित गर्न पाउनु गौरवको विषय भएको संयोजक खत्री बताउछन । जम्मा १७ दिनसम्म चल्ने कार्यशालामा तान्या मात्र एक्ली भने छैनिन। 

उनीसँगै ११ देशका १५ प्रसिद्ध मूर्तिकार अहिले ढुङ्गामा कला भर्न व्यस्त छन् जसमा पाँच नेपाली छन् । गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालामा पाका र अनुभवी मूर्तिकारकै बाहुल्यता छ । नेपालका प्रख्यात मूर्तिकार ६७ वर्षीय प्रवीणकुमार श्रेष्ठ पनि मूर्ति कुँद्दै हुनु । उहाँलाई नेपाली मूर्तिकलाका गुरु भनेर चिनिन्छ । श्रेष्ठले सन् १९८२ मा भारतको बनारस हिन्दू विश्वविद्यालयबाट मूर्तिकलामा स्नातकोत्तर गरेका थिए । 

ललितकला क्याम्पसमा अध्यापन गरेको अनुभव उनीसँग छ । श्रेष्ठले देश–विदेशमा हुने कला प्रदर्शनी र कार्यशालामा भाग लिएका छन । यसपालि बागलुङ, गलकोटमा भइरहेको कार्यशाला जीवनकै अवस्मरणीय हुने उनको भनाइ थियो ।

“दुर्गम ठाउँमा अन्तर्राष्ट्रियस्तरको मूर्तिकला कार्यशाला हुन्छ भनेर कमैले पत्याएका थिए, हिम्मत नै ठूलो कुरा रहेछ, आखिर भएरै छाड्यो”, श्रेष्ठले भने । भारतका प्रसिद्ध मूर्तिकार टुटु पटनायकले नेपालमा भएको मूर्तिकला कार्यशालामा पहिलोपटक भाग लिए । “यहाँको भूगोल, हावापानी साह्रै मन प¥यो, म आभारी छु”, पटनायकले भने, “ठूला शहरमा त कलाको महत्व कम छ, यस्तो गाउँमा कार्यशाला हुनु महत्वपूर्ण कुरा हो ।” उनका कृति भारतलगायत विभिन्न देशका महत्वपूर्ण ठाउँमा सङ्कलन गरिएको छ ।

कार्यशालामा अन्तर्राष्ट्रिय मूर्तिकार संस्थाका अध्यक्ष इटालीका बेतीनो फ्रान्सेनी सहभागी छन । सन् १९४८ मा जन्मनुभएका बेतीनोले ७२ ‘पर्फरमेन्स कला’, कैँयो ‘डिस्को’, होटल एवं नाटकघरको डिजाइन गरेका छन। उनका अमूल्य कृति विभिन्न देशमा सङ्ग्रहित छन् ।
    
मूर्तिकारले निजी अनुभूति र भावनामा आधारित मूर्ति कुँद्ने संयोजक खत्रीले बताए । उनका अनुसार मानव सभ्यता, संस्कृति, वेषभूषा, प्रकृति आदि विषयमा कलाकारले प्रतिकात्मक मूर्ति बनाउनेछन् । राजनीतिक दलका नेता, धार्मिक गुरु, देवीदेवता र आफ्नो देशको संस्कृति झल्कने मूर्ति भने कुँद्न पाइने छैन ।

अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । अन्तर्राष्ट्रियस्तरमा ख्याति आर्जन गरेका मूर्तिकारले सिर्जना गरेका मूर्तिकलाका कृति सङ्ग्रहालय बनाएर राख्ने प्रतिष्ठानको योजना छ । 

कार्यशालामा नेपालबाट मूर्तिकार प्रवीणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिएका छन । जुन इचिरो सुगीमोतो जापान, लिउ याङ्ग चीन, बिटिनो फ्रान्सेनी इटाली, जिवियर्स गोँजालेज फ्रान्स, लिन लि जेन ताइवान, जुली ग्ल्यास्पी क्यानाडा, टुटु पटानायक भारत, तान्या प्रिमिङ्गर इजरायल, जर्जलुइज ब्राजिल र युक्रेनका मूर्तिकार ल्युड्मेले कार्यशालामा सहभागी छन । 

मूर्तिकारलाई सघाउन नेपालका पाँच र भारतका पाँच सहयोगी मूर्तिकार कार्यशालामा छन् । कार्यशालामा सहभागिताका लागि अन्तर्राष्ट्रियस्तरमा आवेदन माग गरिएको थियो । प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिन देश विदेशका गरी २०५ मूर्तिकारले आवेदन दिएका थिए । 

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सहप्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको थियो । आर्थिक वर्ष २०७३÷७४ देखि कार्यशालाका लागि तयारी अगाडि बढेको थियो । हालसम्म पूर्वाधार निर्माणमा रु ८६ लाख ९३ हजार खर्च भइसकेको छ । कार्यशालाको कूल खर्च झण्डै रु दुई करोड ३० लाख नाघ्ने प्रतिष्ठानले जनाएको छ ।

कार्यशालाका लागि सरकारी निकायदेखि व्यक्तिगतरुपमा आर्थिक सहयोग जुटाइएको छ । कार्यशालाको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरेका थिए
 

६ बर्ष अगाडि

प्रतिक्रिया