राजस्व उठाएर सरकार चलाउने पक्षमा छैनौं : अर्थमन्त्री

७ बर्ष अगाडि

अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र खतराको बिन्दुमा नरहेको बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन) को १९औं साधारण सभामा बोल्दै अर्थमन्त्री खतिवडाले सरकार अर्थतन्त्रलाई सबल बनाउन लागि परेको र लगातार पछिल्लो दुई वर्ष ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि भएकाले अर्थतन्त्रमा कुनै खतरा नरहेको बताएका हुन् ।

खतिवडाले भने, “अर्थतन्त्र सुधारका लागि बजेट अनुशासन कायम गर्न खोज्दा आलोचना भयो । तर, हामी अर्थतन्त्रलाई गति दिँदै लगानीको वातावरण बनाउन प्रतिबद्ध छौं ।”

संघीयता कार्यान्वयन भएपनि वित्तीय संघीयता कार्यान्वयन शुरुआती चरणमा रहेकाले अर्थतन्त्रमा केही अलमल देखिएको अर्थमन्त्रीको भनाइ छ ।

खतिवडाले सरकारले गरेको कामको परिणाम देखिन केही समय लाग्ने बताए ।

उनले भने, “हामी आयातमा राजस्व उठाएर सरकार चलाउने पक्षमा छैनौं । निजी क्षेत्रको सहभागीता विना ८ प्रतिशतको आर्थिक वृद्धि सम्भव हुँदैन ।”

अर्थमन्त्रीले निजी क्षेत्रको लगानी बढाउनका लागि उद्योगी व्यवसायीको माग बमोजिम कानूनमा सुधार गरिरहेको पनि बताए ।

खतिवडाले लगानी प्रवर्धनको लागि सरकारले लगानी सम्मेलन गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बढ्दो व्यापार घाटा अर्थतन्त्रका लागि चुनौती रहेको भन्दै सरकारले नीतिगत स्थायित्वको सुनिश्चिता दिनुपर्ने बताइन् ।

निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताउँदै राणाले कर प्रणालीमा देखिएको अन्योल सरकारले तत्काल समाधान गर्नुपर्ने धारणा राखिन् । 

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले आयातमा राजस्व संकलनमा जोड दिनुभन्दा आन्तरिक स्रोत बलियो बनाउन लाग्नुपर्ने बताएका छन् ।

सेजनको साधारण सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ, भने विधान संशोधनको विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया