काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले रु ३६ करोड ५५ लाख ९४ हजार बराबरको ३६ लाख ५५ हजार ९४० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले शेयर बिक्रीका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल, हिमालयन क्यापिटल र कुमारी क्यापिटलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।
यस सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष उमेश कसजु र प्रत्याभूतिकर्ताहरुको तर्फबाट एनएमबि क्यापिटलका श्रीजेश घिमिरे, सनराइज क्यापिटलका विजयलाल श्रेष्ठ, हिमालयन क्यापिटलका परमेश्वर पन्त र कुमारी क्यापिटलका राजेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कम्पनीले रु १८ करोड २७ लाख ९७ हजार बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर आयोजनाप्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी रु १८ करोड २७ लाख ९७ हजार बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्ने जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रु एक अर्ब ८२ करोड ७९ लाख ७० हजार छ ।
सिन्धुपाल्चोक जिल्लाको साविक गुम्बा र गोल्चे गा.वि.सहरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना अहिले निर्माणको चरणमा रहेको र कम्पनीले हालसम्म ८० प्रतिशत सम्मको निमार्ण कार्य सम्पन्न गरिसकेको छ ।
आगामी २०७७ आषाढ सम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जडान गरीबिक्री गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
यस कम्पनीको कुल लागत जम्मा रु ६ अर्ब ७८ करोड रहेकार प्रति मेगावाट रु १६ करोड ९० लाख रहेको छ ।
इक्रा नेपालले यस कम्पनीले जारी गर्न लागेको आइपीओलाई ग्रेड फोर प्लस प्रदान गरेको छ । कम्पनीको औषत वार्षिक विद्युत उत्पादन राम्रो रहेको तथा आयोजनाको लागत कम रहेकोले सञ्चालनमा आएको पहिलो वर्षमा नै लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ ।
हाइड्रोपावर क्षेत्रको एउटा राम्रो कम्पनीले बजारमा शेयर निष्काशनगर्दा पूँजीबजार तथा लगानीकर्ताहरुलाई फलदायीहुने कम्पनी तथा प्रत्याभूतिकर्ताले जानकारी गराएको छ ।
प्रतिक्रिया