विद्युत् विस्तारसँगै ताकमवासीको जीवनशैलीमा परिवर्तन‘

५ बर्ष अगाडि

‘डिजेलबाट चल्ने मिलमा एक पाथी धान कुटेको रु आठ लाग्थ्यो, अहिले रु तीनमा एकै छिनमा कुटेर सकिन्छ”, ताकमका ठाकुरप्रसाद पौडेलले भने , “बिजुली आएपछि हाम्रो दैनिकीमा धेरै परिवर्तन आयो ।” 

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा केन्द्रीय प्रसारण लाइन विस्तारसँगै सञ्चालन भएको कुटानी पिसानी मिलबाट समय र नगदको बचत गरेको पौडेलले बताए । “बिजुलीले दुर्गम गाउँमा पनि सुगमको जस्तै सुविधा भएको छ”, स्थानीय ईश्वरी आचार्यले भने, “मोही पार्ने, भात पकाउन विद्युतीय उपकरण भएपछि दाउरा खोज्ने, ग्याँस किन्ने झन्झट र धुँवाको दुःख हरायो ।”

बिजुली पुगेपछि ताकमका तोरण थापाले फर्निचर उद्योग खोलेका छन् । उद्योगमा उनसँगै पाँच जनाले काम गर्छन् । यसअघि डिजेलबाट जेनेरेटर चलाएर फर्निचर उद्योग चलाउँदै आएका थापाले विद्युत् विस्तार भएपछि लागत र समय घटेको बताए । 

गाउँमा बिजुली बलेपछि फर्निचर, कुटानी पिसानीलगायत उद्योग खुल्ने क्रम बढेको उद्योग वाणिज्य सङ्घ धवलागिरि एकाइ समितिका सभापति किरण थापाले बताए । ताकममा गाउँपालिकामै पहिलोपटक विद्युतीकरण भएको हो । यसअघि गाउँले उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए ।

मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, रेडियो सुन्न, ल्यापटप, कम्प्युटर, इमेल इन्टरनेट चलाउन सजिलो भएको छ । बिजुलीको उज्यालोसँगै घरायसी कामकाज सहज, उद्योग व्यवसाय सञ्चालन गरेर आयआर्जनको अवसर सिर्जना भएको छ ।  नेपाल विद्युत् प्राधिकरण र धवलागिरि गाउँपालिकाको साझेदारीमा ताकमका ७७७ घरधुरीमा विद्युतीकरण भएको हो । धारापानीका २०१ घरधुरीमा गत वर्ष बिजुली बालिएको थियो । 

ताकम, हिलापोखरी, आटेबिर, आरखोला, काफलडाँडा, शिवाङ र मच्छिमका ५७६ घरधुरीमा यसपटक विद्युतीकरण गरिएको उपभोक्ता समितिका अध्यक्ष प्रगति कार्कीले बताए । उनका अनुसार विद्युतीकरण गर्न गत वर्ष गाउँपालिकाले रु ७३ लाख विनियोजन गरेकामा रु ६९ लाख खर्च भएको थियो । 

मुख्य लाइन, ट्रान्सफर्मरलगायत उपकरण खरिद र विस्तारको काम विद्युत् प्राधिकरणले ठेक्कामार्फत गरेको थियो । धवलागिरि गाउँपालिकामा विद्युतीकरणका लागि सङ्घीय सरकारले गत वर्ष रु चार करोड ५० लाख विनियोजन गरेको थियो । यस वर्ष विनियोजन भएको रु  दुई करोड ८१ लाख बजेटबाट मुना, मुदी, लुलाङ र मराङमा विद्युतीकरणको तयारी भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले बताए । 

एक हजार ७०० घरधुरीको बसोबास रहेको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ, खिवाङ, लुलाङ, मुना र गुर्जामा लघुजलविद्युत् परियोजना सञ्चालन गरिएको छ । बगरमा गत कात्तिकमा सौर्य ऊर्जामार्फत विद्युतीकरण भएको थियो । केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत गाउँपालिकाको सबै घरलाई उज्यालो बनाउने योजना अघि सारिएको अध्यक्ष थमसरा पुनले बताए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया