पाल्पाको निस्दी गाउँपालिकामा प्रथम निस्दी महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष– २०२० लाई सफल बनाउन यहाँ पहिलो पटक महोत्सव हुन लागेको छ । परिवर्तनका लागि युवा निस्दी–४ को आयोजना तथा निस्दी गाउँपालिकाको सहयोगमा हुने महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृतिलाई प्राथमिकता दिइनेछ ।
विशेष गरी स्थानीय कला संस्कृति प्रदर्शन, गाउँघरमा उत्पादित वस्तुको उत्पादनलाई बजारीकरण तथा प्रवद्र्धन गर्न र भ्रमण वर्ष सफल पार्न आयोजना गरिएको महोत्सवको तयारी तीव्र पारिएको छ ।
‘सुखी समृद्ध निस्दी हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फागुन १५ देखि १७ गतेसम्म तीन दिनसम्म महोत्सव आयोजना गरिएको छ । मित्यालको झ्यालतुङ खेलमैदानमा हुने प्रथम निस्दी महोत्सवमा गाउँपालिका भित्र रहेका सातै वडाको झाँकीनाच प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, मगरी खानाको परिकार रहने मूल आयोजक समितिका अध्यक्ष रोमन गाहाले बताए ।
यस ठाउँमा पहिलो पटक महोत्सव हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । जिल्लाको विकट र दुर्गममा रहेका स्थानीयवासी गाउँमै महोत्सव हुने भएपछि स्थानीय उत्पादनले प्राथमिकता पाउने आशा लिएको तेजन सुनारीले बताए ।
प्रतिक्रिया