विद्यालयको शैक्षिक वातावरण हरियाली बनाउने उद्देश्यले रामपुरमा ‘एक कक्षा दुई गमला अभियान’ शुरु भएको छ ।
रामपुर नगरपालिका वडा नं ४ को कार्यालयले नगरको एक घर दुई बिरुवा कार्यक्रमअन्तर्गत ‘एक कक्षा दुई गमला अभियान’ कार्यक्रम शुरु गरेको हो ।
वडा कार्यालयले यो कार्यक्रमअन्तर्गत यस क्षेत्रका विद्यालयमा बिरुवासहितको गमला वितरण गरेको छ ।
बिरुवासहितको गमला वितरण गरेका विद्यालयहरुमा सीताराम माध्यमिक विद्यालय, कालिका आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, मदरसा नुरुल होदा अहले सुन्न प्राथमिक विद्यालय र मदरसा नुरुल होदा आधारभूत विद्यालयलाई रहेको वडाध्यक्ष एकबहादुर नेपालीले बताए ।
उनले भने, “एक घर दुई बिरुवा कार्यक्रमअन्तर्गत हामीले पहिला विद्यालयबाट शुरु गरेका छौँ, शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएर शुरु भएको यो अभियानलाई वडाभरि नै सञ्चालन गरी घर घरमा दुई वटा बिरुवा अनिवार्य लगाउन सहयोग गर्दै जानेछौँ ।”
शिक्षाको ज्योति दिने विद्यालयलाई पहिलो प्राथमिकता दिएर एक कक्षा दुई गमला वितरण कार्यक्रम अत्यन्तै राम्रो लागेको सीताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारीले बताए । “वातावरण हराभरा मात्र नभई शैक्षिक वातावरणमासमेत यसले राम्रो प्रभाव पार्नेछ भने यसको सिको अरुले पनि गरेमा विद्यालयको शैक्षिक गुणस्तरमा राम्रो सघाउ पुग्नेछ”, उनले भने ।
वडाको रु ५० हजार बजेटबाट बिरुवासहित गमला वितरण गरेको वडासचिव रजनी भण्डारीले बताए । प्रावि तहका लागि १०, आधारभूत तहका लागि १६ र मावि तहका लागि २० वटा गमला वितरण गरिएको हो ।
गमलामा बिरुवा रोप्ने प्रविधि, सिँचाइ र रेखदेखका सम्बन्धमा पुष्प व्यवसायी दिलबहादुर थापाले विद्यालयमा पुगेर ज्ञान सीप सिकाउन आफू तयार रहेको र रामपुरलाई आवश्यक पर्ने बिरुवा उपलब्ध गराउने बताए ।
यसैगरी नगरको एक घर दुई बिरुवा कार्यक्रम वडा नं ७ ले पनि शुरु गरेको छ । वडा कार्यालयले वडाभित्र बसोबास गर्ने सबै घरधुरीलाई समेटेर एक घर दुई बिरुवा अनिवार्य लगाउनुपर्ने अभियान संचालन गरेको छ ।
एक घर दुई बिरुवा कार्यक्रमअन्तर्गत नगरलाई आत्मनिर्भर बनाउन १४ टोल विकास संस्थामार्फत ८३१ घरधुरीमा दुई÷दुई वटा करेला र घिरौलाका बीउ वितरण गरेको छ ।
रामपुर नगरपालिकाले नगरलाई सफा र हराभरा नगर बनाउन एक घर दुई बिरुवा अभियान अगाडि सारेको छ । यसैअनुरुप विभिन्न वडाले यो कार्यक्रम शुरु गरिरहेका छन् ।
प्रतिक्रिया