हजुरबा पर्ने ब्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ ।
बर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेश्रो साता गाउँबाट उद्धार गरी सदरमुकाम फिदिम ल्याइएको थियो । पीडित युवतीले गत पुष २७ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी थिइन् ।
केही स्थानीयवासीको सहयोगमा सदरमुकाम ल्याइएकी पीडितलाई एक महिनादेखि महिला सेवा केन्द्रमा राखिएको छ । युवतीले सम्बन्धले हजुरबा पर्ने जिल्लाको याङवरक–३ का अमृत योङ्याले आफूलाई १४ वर्षको उमेरदेखि यौन हिंसा गर्दै आएको वताएकी छन् । आफ्नो परिवार आर्थिक रुपले अति कमजोर रहेका कारण योङ्याको परिवारमा आश्रित भई जिविकोपार्जन गर्नुपर्दा दुब्र्यवहार सार्वजनिक गर्न नसकेको पीडितको भनाई छ ।
पीडक भनिएका योङ्याको परिवारका कारण युवती गाउँ फर्कन नसक्ने अवस्था आएको हो । आफूलाई योङ्या तथा उनको परिवारले गाउँ नजान दबाव दिने गरेको युवतीको भनाई छ । “कसरी गाउँ गएर बस्दी रहिछे हामी पनि हेर्छौँ भनेर भन्दै हिँड्छन् । त्यस्तो कुरा सुनाउन म भएठाउँ मान्छे पठाउँछन्”, पीडितले भनिन्, “हामी त गोठाला खेताला गरेर खाने मान्छे । अहिले काम गरेर भरे खानु पर्छ । अब के गर्ने ? कहाँ जाने ?” पीडित युवतीले योङ्या परिवारले आफ्ना आमा, बावु र वहिनीहरु माथि समेत दुब्र्यवहार गरेको वताइन् ।
नातिनी पर्ने युवतीमाथि वर्षौँदेखि यौन शोषण गरेको विषय सार्वजनिक भएपछि नेपाली काँग्रेसका नेता समेत रहेका योङ्या भने फरार भएका छन् । पीडित युवतीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा गत पुष २७ गते आफूमाथि वर्षौँदेखि यौन शोषण हुँदै आएको र पछिल्लो पटक समेत योङ्याले बलात्कारको प्रयास गरेको भन्दै लिखित जाहेरी दिएकी थिइन् । पीडित युवतीको जाहेरीपछि योङ्याको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले वताउनुभयो ।
पीडित युवतीले आर्थिक÷सामाजिक रुपले गाउँमा पहुँचवाला योङ्याको परिवारले गल्ती ढाकछोप गर्न आफ्नो बद्नाम गरेको गुनासो समेत गरेकी छन् । “आफ्नै इज्जतमाथि प्रश्न उठ्ने कुरा कसले बोल्छ ? मलाई फल्नोले यसो यसो ग¥यो भनेर कुन नारीले भन्न सक्छे ?”, पीडित युवतीको गुनासो छ, “तर वर्षौँसम्म पीडा र अत्याचार सहने मलाई नै गाउँ समाजमा नराम्रो पार्न बाजेको (पीडक भनिएका योङ्या) परिवार लागिपरे ।”
पछिल्लो पटक गत पुष ९ गते योङ्याले युवती एक्लै भएको मौका छोपेर बलात्कारको प्रयास गरेका थिए । तर पीडित युवतीले प्रतिवाद गरिन् । त्यसपछि उक्त विषय गाउँ समाजमा सार्वजनिक भयो । तर गाउँमा पीडित युवतीको चरित्र र नैतिकतामाथि योङ्या सहित उनको परिवारले प्रश्न उठाउँदै उनैलाई गलत सावित गर्न खोजेको पीडितको भनाई छ । यही विषयलाई लिएर पुष १४ गते गाउँमा छलफल पनि भयो ।
तर छलफलको विषय ‘अनैतिक ब्यवहार गरेको भनि आरोप लगाएको’ भन्नेमा अड्कियो ।
याङवरक–३ का वडाध्यक्ष मविन्द्र योङ्यासमेत सहभागी छलफलले आइन्दा दिनमा त्यस प्रकारको ब्यवहार भए कानूनबमोजिम कारबाही गर्नुपर्ने भनेर कागज ग¥यो । तर यस पटक पीडित युवती ‘कागज’ र आश्वासनमा अडिइनन् । “मैले पनि न्याय पाउँछु होला भन्ने हिम्म गरेर जिल्लासम्म आएँ”, पीडितले भनिन्, “मलाई पैसामा मिल्न दबाव आउने गरेको छ । खै ठूला नेताहरु रे, उहाँहरुले पनि मिल्नु पर्छ भने । मलाई बच्चैदेखि जबरजस्ती गर्नेलाई कसरी छाड्न्ु ?”
किशोरावस्थामै बलात्कार र यौन हिंसाको शिकार भएकी उनले १६ वर्षको उमेरमा उक्त अवस्थाबाट मुक्ति पाउन छिमेकी गाउँका युवासँग विवाह गरेकी थिइन् । तर विवाह भएको केही समयपछि विदेशिएका श्रीमान न त फर्केर नै आए, न सम्पर्कमै रहे । त्यसपछि उनी माइतीमै गएर बसिन् । कमजोर आर्थिक अवस्थाका कारण आफ्ना बावु र माइतीले आफूहरु माथि दुब्र्यवहार भएको थाहा पाएपनि प्रतिवाद गर्न नसकेको पीडितको दुःखेसो छ । “आमाले बाजे त छोरी, नातिनी कोही नचिन्ने पशु छन् । जोगिएर हिँड्नु भन्थिन्”, पीडितले भनिन्, “हामी उसकोमा खेताला गोठाला नगएपनि कुटाई खानुपर्ने, गयो भने उसले जे भन्यो त्यहि मान्नुपर्ने ।”
पीडित युवतीले आफूमाथि वर्षौँदेखि भएको बलात्कार र यौन दुब्र्यवहार सार्वजनिक गर्ने वताएपछि योङ्याले आफूमाथि नै गाली बेइजतीको मुद्दा लगाउने र जेलमा हाल्ने पटक–पटक धम्की दिएको पीडितको गुनासो छ । “यो कुरा गाउँमा अरुलाई थाहा नभएको पनि होइन् । तर उनको परिवारका अघि बोल्ने आँट कसले गर्ने ?”, पीडितले भनिन्, “किन यस्तो अत्याचार सहेको भनेर गाउँलेले भन्थे । मैले हिम्मत गर्न सकेको थिइन् । म त दुई÷चार कक्षा पनि नपढेको मान्छे । के जान्नु, के बुझ्नु, कहाँ गएर भन्नु ?”
पीडितको पूरा परिवार नै योङया र उनका समर्थकका परिवारमा आश्रित हुनुपरेकाले पीडित युवती गाउँबाट विस्थापित हुनसक्ने र उनीमाथि सुरक्षा चुनौति समेत हुनसक्ने भन्दै केही स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । स्थानीयले यस विषयमा प्रशासन चिन्तित नबनेको, फरार रहेका योङया सीमावर्ती क्षेत्रमा हिँडडुल गरेपनि पक्राउ गर्न प्रहरीले सक्रियता नदेखाएको भन्दै आक्रोशित बनेका छन् ।
आरोपित योङ्या नेपाली काँग्रेस पाँचथरका आमन्त्रित सदस्य हुन् ।
उनीमाथि अन्य फौजदारी मुद्दा समेत अदालतमा विचाराधीन छ । योङ्या शक्तिको आडमा हिँड्दै आएका थिए । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला उनी तत्कालीन माओवादीमा आवद्ध भएका थिए । विभाजनबाट माओवादीको शक्ति क्षीण हुँदै गएपछि उनी २०६९ सालमा काँग्रेसमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया