२४ बैंकको वित्तिय विवरण आयोः कुन बैंकको कति नाफा ?

६ बर्ष अगाडि

काठमाडौं – २७ बाणिज्य बैंक मध्ये माघ २८ गतेसम्म २४ बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । सरकारी स्वामित्वको नेपाल बैंक र कृषि विकास बैंक सहित निजी क्षेत्रका एनआईसी एसिया, कुमारी बैंक, सनराइज लगायतका २४ बैंकले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका हुन् । 
नियमअनुसार बाँकी रहेका बाणिज्य बैंकले पनि यो माघ महिनाको अन्त्यसम्म वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । त्रैमास सकिएको १ महिना भित्र वित्तिय विवरण सार्वजनिक गर्नुपर्ने नियम छ । राष्ट्रिय बाणिज्य बैंक, सेञ्चुरी बैंक र मेगा बैंकले यस्तो वित्तिय विवरण सार्वजनिक गरेका छैनन् । 
२४ बैंक बैंकको वित्तिय विवरणलाई तुलना गर्दा बैंकहरुको नाफा ९.०४ प्रतिशत मात्र बृद्धि भएको छ । समग्रमा २४ बैंकले  ६ महिनामा रू. ३० अर्ब ११ करोड ५३ लाख नाफा कमाएका छन् । गत आवमा ति बैंकहरुले रू. २७ अर्ब ६१ करोड ६२ लाख खुद नाफा कमाएका थिए । 
पहिला बैंकहरूको नाफा दोहोरो अंकको प्रतिशतमा बृद्धि हुने गरेको थियो । तर, यो आवको सुरु देखि नै बैंकको नाफा खुम्चिदै गएको छ । पछिल्लो समय राष्ट्र बैंकले स्प्रेडदरमा कडाई गरेको छ । साथै, प्रतिस्पर्धाको बजारमा बैंकहरुले बढी मात्रामा शाखा विस्तार गरेका छन्, कर्मचारी पनि बढाएका छन् । त्यसरी अहिले बैंकहरुको सञ्चालन खर्च बढेको छ । तर, त्यो अनुसारको आम्दानी भने हुन सकेको छैन, जसअनुसार बैंकहरुको नाफा सोचे अनुरुप नबढेको जानकार व्यक्तिहरू बताउँछन् । 
दोस्रो त्रैमासमा १५ बैंकले रू. १ अर्ब भन्दा बढी नाफा कमाएका छन् । त्यसमाथि ३ बैंकले रू. २ अर्ब भन्दा बढी नाफा कमाएको देखिन्छ । 
नाफा कमाउने मामलामा सरकारी स्वामित्व कृषि बिकास बैंक पहिलो नम्बरमा देखिएको छ । यस्तै, दोस्रो नम्बरमा नविल बैंक र तेस्रो स्थानमा एनआईसी एसिया बैंक रहेको छ । यी तीनै बैंकको नाफा २ अर्ब रुपैयाँ भन्दा छ । 
कृषि विकास बैंकले रू. २ अर्ब १६ करोड, नविल बैंकले रू. २ अर्ब ४ करोड र एनआईसी एसियाको रू. २ अर्ब १ करोड नाफा कमाएको छ । 
यस्तै, चौथो नम्बरमा रहेको नेपाल बैंकले रू. १ अर्ब ९४ करोड र पाचौं नम्बरमा रहेको हिमालयन बैंकले रू. १ अर्ब ७४ करोड नाफा कमाएको छ । नेपालकै सबैभन्दा ठुलो बैंक भनिएको ग्लोबल आईएमई बैंक भने नाफा कमाउने मामलामा छैटौं नम्बरमा पुगेको छ । उक्त बैंकले रु. १ अर्ब ६७ करोड नाफा कमाएको छ ।
चालु आवमा ७ बैंकको नाफा भने घटेको छ । तथ्यांकअनुसार नेपाल बैंकको १८.०४ प्रतिशत, सिद्धार्थ बैंकको ४.०१ प्रतिशत र सिटिजन बैंकको १०.२१ प्रतिशतले नाफा घटाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १५.६६ प्रतिशत, सिभिलको १४.७५ प्रतिशत, नविलको ६.२ प्रतिशत र एसबीआईको २.१५ प्रतिशतले नाफा घटेको छ । नाफा कमाउने मामलामा सिभिल बैंकको अन्तिम नम्बरमा छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया