चितुवाको आक्रमणमा मृत्यु भएका बालिकाको परिवारलाई ५० हजार सहयोग

६ बर्ष अगाडि

डिभिजन वन कार्यालय कास्कीले चितुवाको आक्रमणबाट मृत्यु भएका नौ वर्षीया बालिका पूजा विकको परिवारलाई राहत प्रदान गरेको छ । 

पोखरा महानगरपालिका–३२ कोठे गाउँका दीपक र अप्सरा विकका नौ वर्षीया छोरी पूजालाई बिहीबार राति चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।  वन कार्यालयका प्रमुख एवं डिभिजनल वन अधिकृत रामकाजी श्रेष्ठले मृतकको परिवारलाई किरिया खर्चबापत आज तत्कालका लागि रु ५० हजार राहत प्रदान गरिएको बताए ।

वन्यजन्तु क्षतिको राहत निर्देशिका २०६९ बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने नीति रहेपनि आवश्यक कागजपत्र तयार गर्न समय लाग्ने भएकाले तत्कालका लागि सो सहयोग प्रदान गरिएको उनको भनाइ छ । 

छिमेकीको घरबाट खेलेर घर फर्किने क्रममा बालिकालाई चिुतवाले आक्रमण गरेको थियो । चितुवा पुनःबस्तीमा आउनसक्ने भएकाले नियन्त्रणका लागि घटनास्थल नजिकै एउटा काठको खोर राख्ने तयारी गरिएको छ । छिमेकी जिल्ला तनहुँमा समेत चितुवाले बारम्बार बालबालिकामाथि आक्रमण गरी सन्त्रास फैलाएकाले नियन्त्रणका लागि त्यहाँ अभ्यास गरिएका उपायका बारेमा समेत परामर्श गरिएको डिभिजनल प्रमुख श्रेष्ठले बताए । 

६ बर्ष अगाडि

प्रतिक्रिया