नेपालमा हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० मा नेपालले ५१ स्वर्णसहित २०६ पदक प्राप्त गरेर भारतपछिको दोस्रो स्थान हासिल गर्न सफल भयो । यस प्रतियोगितामा नेपालको सुदूरपश्चिम क्षेत्रबाट सहभागी खेलाडीले मात्र १२ स्वर्ण, ३१ रजत र ३० कास्य पदक दिलाएका थिए ।
सुदूरपश्चिम क्षेत्रबाट एकल र समूहतर्फ गरी ५९ पुरुष तथा महिला खेलाडी सहभागी थिए । यहाँबाट विभिन्न खेलका नौ प्रशिक्षक सागको बन्द प्रशिक्षणदेखि नेपाली टिम प्रशिक्षणमा व्यस्त रहे । खेलकूदमा यस्तो उल्लेखनीय उपस्थिति यसपटक मात्र नभएर अघिल्लो सागमा पनि सुदूरपश्चिम क्षेत्रको रहेको थियो ।
क्रिकेट, कुस्ती, भारत्तोलन, तेक्वान्दो, हक्की, भलिबल, कवड्डी, फुटबल र बक्सिङ खेलका खेलाडी उत्पादनको थलोका रुपमा हेरिएको सुदूरपश्चिम प्रदेशको खेल प्रशिक्षण भने सबैतिर उपलब्ध छैन । तराइका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्र केन्द्रित हुन पुगेको छ । जसका कारण पहाडी जिल्लाको खेलकूद गतिविधि सुनसानजस्तै बनेको गुनासो खेलाडी, खेलप्रेमी र खेलकूद क्षेत्रका अधिकारीहरुको छ ।
यहाँ खेलकूद सञ्चालनका लागि संरचनाको अभाव छ भने प्रशिक्षक अपर्याप्त छन् तर यस क्षेत्रका खेलाडीले खेल्न भने पछि हटेका छैनन् । सुदूरपश्चिम खेलकूद प्रशिक्षण केन्द्रका निर्देशक तथा बक्सिङका ओलम्पियन विष्णुबहादुर सिंहले बैतडी, कञ्चनपुर र कैलाली क्रिकेटका खेलाडी तयार पार्न एक किसिमको ‘हब’ नै भएको बताए ।
“तीन जिल्लाले क्रिकेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल खेलाडी जन्मायो तर अझै सुदूरपश्चिमले यस खेलको स्थायी प्रशिक्षक पाउन नसक्नु दुःखद् कुरो हो” प्रशिक्षण केन्द्रका निर्देशक सिंहले भने ।
नेपाली क्रिकेटमा परिचित खेलाडी विनोद भण्डारी, प्रदीप ऐरी, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, ललित भण्डारी, चन्द्र साउँद, दिलीप नाथ, सञ्जीव जोरा, भीम सार्की, शेर मल्ल, लोकेश बम, धीरेन्द्र चन्द सुदूरपश्चिमले नै उत्पादन गरेका खेलाडी हुन् ।
प्रतिक्रिया