वुहानमा रहेका नेपालीको स्वास्थ्यवस्थाबारे सरकार संवेदनशील :प्रवक्ता बाँस्कोटा

६ बर्ष अगाडि

छिमेकी चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको नोभेल कोरोना भाइरसको बढ्दो रूपप्रति नेपाल सरकार संवेदनशील रहेको छ ।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको स्वास्थ्यवस्थाबारे सरकार अत्यन्त संवेदनशील रहेको बताएका छन ।

प्रभावित क्षेत्रमा रहेका नेपालीका सम्बन्धमा चीन सरकार स्वयं अत्यन्त सजग रहेको उल्लेख गर्दै उहाँले आफ्ना देशका नागरिकसरह नेपाली नागरिकको पनि स्वास्थ्यप्रति चीनले गम्भीर चासो देखाएको बताए । 

“नेपाली नागरिकको सुरक्षाका निम्ति चिनियाँ नागरिकसरह गम्भीर बनेका छौँ भनेर उनीहरुले भनेका छन्”, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएका प्रवक्ता बाँस्कोटाले भने । 

चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्यलाई लिएर अभिभावकबाट चिन्ता व्यक्त हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले सरकारले पनि अभिभावकका रूपमा प्रभावित क्षेत्रमा डर र त्रासका बीच रहेका नागरिकलाई उद्धार गर्ने प्रक्रिया अगाडि बढाएको प्रष्ट पारे ।

 “हामीले उद्धारका लागि तयारी तीव्र पारेका छौँ, प्रभावित क्षेत्रबाट ल्याइएका नागरिकलाई १४ दिन ‘क्वारेन्टाइन’मा राख्नुपर्ने हुन्छ, उनीहरुलाई राख्ने स्थानको व्यवस्था गर्दैछौँ”, उनले भने, “जहाजको कुनै समस्या छैन, विमानस्थलदेखि ‘क्वारेन्टाइन’ सम्म जाने ठाउँको व्यवस्था गर्नुपर्नेछ ।

चिकित्सक, अलग्गै वार्ड, स्वास्थ्य परीक्षणलगायतको प्रबन्ध गर्नुपर्ने छ, त्यो व्यवस्था हुँदैछ ।”

वुहानमा रहेका नेपालीको अवस्थाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै उनले यसमा नआत्तिन अभिभावकलाई आग्रह गरे। कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा उच्च मनोबल बनाउनुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।

पछिल्लो समय कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिको स्वास्थ्यमा सुधार हुने क्रम बढ्दै गएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको उनले जानकारी दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया