म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित सर्वोदय माविले आधुनिक प्रविधिको प्रयोग गरेर पठनपाठन शुरुआत गरेको छ । अहिले इ शिक्षा (टेलीटिचिङ) प्रविधिबाट कक्षा ११ र १२ का विद्यार्थीलाई सोमबार र मङ्गलबार एक÷एक घण्टा दक्षिण कोरियाबाट प्रकाश धमलाल पढाउने गरेका छन्।
अध्ययनका लागि त्यहाँ पुगेका उहाँले भाषा र संस्कृतिको बारेमा विद्यार्थीलाई सिकाउनुहुने बताइएको छ । टेलीटिचिङ कक्षा सञ्चालन गर्न दक्षिण कोरियाको टेलिकमले विद्यालयको एउटा कोठामा अत्याधुनिक प्रयोगशाला तयार गरिदिएको छ । कक्षा कोठाको अगाडि ७२ इञ्जको एलइडी मनिटर राखिएको छ । छेउमा वेभ क्यामेरा जडान गरिएको छ । इन्टरनेट जडान गरेपछि वेभ क्यामेराको माध्यमबाट सिकाउने गरेको कम्प्युटर शिक्षक टकबहादुर पुनले जानकारी दिए।
‘टेलीटिचिङ गराउन पाँच एमबिपिएस क्षमताको इन्टरनेट जोडेका छौँ”, उनले भने, “वेभ क्यामेरा र इन्टरनेटबाट फरक फरक ठाउँमा भएका शिक्षक र विद्यार्थीले साक्षात्कार गरेर पढ्छन् ।” एलइडीको पर्दामा शिक्षक र विद्यार्थीको दृष्य एक अर्काले देख्न सक्छन् । आवाज पनि सुनिन्छ । आमनेसामने भए जसरी नै कुराकानी गर्छन् । कक्षा ११ का २२ र १२ का १९ विद्यार्थी टेलीटिचिङमा सहभागी भएका छन् । भौगोलिक हिसाबले धेरै टाढा भएका शिक्षकले पनि गाउँमा रहेका विद्यालयमा पढाउँदा दङ्ग परेको विद्यार्थी सनम सुनारले बताए । छात्रा सन्ध्या श्रेष्ठले कक्षा कोठामा शिक्षकको भौतिक उपस्थितिजस्तै हुने अनुभव सुनाए।
पर्दामा पुस्तकका साथै दृष्य हेर्दै र अडियो सुन्दै पढ्दा समय बितेको पत्तै नहुने कक्षा ११ का गौतम विकले बताए। दक्षिण कोरियाको भाषा, संस्कृति र रहनसहनको बारेमा पढीरहेका छन् । कक्षा कोठामा शिक्षकको भौतिक उपस्थिति बिनै प्रविधिको प्रयोग गरेर फरक ठाउबाट पनि पढाउन सकिने विद्यालयका प्रअ किसन पुनले बताए। “अहिले परीक्षणको क्रममा छौँ”, उनले भने, “विषयगत शिक्षक नभएको विद्यालयमा टेलीटिचिङबाट पढाउन सकिन्छ ।”
विद्यार्थीको पढाइप्रति रुचि बढेको छ । विद्यालयलाई टेलीटिचिङका साथै भवन र कम्प्युटर ल्याब सञ्चालन गर्न पनि दक्षिण कोरियाको अम हङ गिल फाउण्डेशनले सहयोग गरेको छ । मासिक रु २७ हजार इन्टरनेटको शुल्क तिर्न पनि संस्थाले नै सहयोग गरेको छ । फाउण्डेशनको सहयोगमा नौ कोठे भवन निर्माण भएको व्यवस्थापन समितिका अध्यक्ष वुद्धि पुनले बताए।
यसअघि १६ ल्यापटप सहयोग गरेको संस्थाले थप २१ उपलब्ध गराउन लागेको छ । कक्षा ६ देखि ९ सम्म कम्प्युटर विषयको पठनपाठन हुन्छ । कक्षा १ र २ मा अङ्ग्रेजी माध्यमबाट पढाउने गरिएको सहायक प्रअ गोविन्द थापाले जानकारी दिए। कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा २६१ विद्यार्थी अध्ययन गर्दछन् । आठ हजारमाथिका सबै हिमाल चढेका दक्षिण कोरियन नागरिक अम हङ गिलले फाउण्डेशन स्थापना गर्नुभएको थियो । सो फाउण्डेशनले नेपालका १६ विद्यालयमा पूर्वाधार र प्रविधि सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया