सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियान भोलि (सोमबार) देखि राजधानीमा शुरु हुँदैछ । गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा विहान ६ बजेबाट शुरु हुने अभियानको सम्पूर्ण तयारी पूरा भएको अभियानको संयोजन गरिरहनु भएका न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष कुमार राज सुवेदीले जानकारी दिनुभयो । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई सम्भव भए सम्म तन, मन र धन सबै किसिमले सहयोग गर्न सुवेदीले अपील गर्नु भएको छ ।
अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको छ । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गर्नुभएका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लाग्नुभएको हो । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताउनु भएको छ ।
उहाँले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिनुभएको छ । नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाउनु भएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनु भए पनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको रेकर्ड छ ।
प्रतिक्रिया